चीनको पहिलो अटोमोबाइल निर्माता कम्पनी चाङान अटोमोबाइलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय नयाँ ऊर्जा सवारीसाधन (NEV) कारखानाबाट थाइल्याण्डको रायोङमा औपचारिक रूपमा गाडी उत्पादन सुरु गरेको छ।
यो उपलब्धि कम्पनीको “Vast Ocean Plan” अन्तर्गतको रणनीतिक पहल हो, जसले अब चीन बाहिर पनि पूर्ण औद्योगिक प्रणाली निर्माण गर्ने दिशातर्फ चाङानको लक्ष्य देखाउँछ।
रायोङमा बनेको कारखाना अत्याधुनिक प्रविधिसहितको उत्पादन, अनुसन्धान तथा विकास (R&D), र दीर्घकालीन आपूर्ति प्रणाली क्षमतासँग सुसज्जित छ।
यहाँबाट उत्पादन हुने हरित (green) र स्मार्ट सवारीहरू विश्वभर आपूर्ति गरिनेछ।
कारखानामा हाल वार्षिक १ लाख युनिट उत्पादन क्षमतासँग काम भइरहेको छ, जसलाई २०२७ सम्ममा २ लाख युनिट पुर्याइने योजना छ।
यहाँ उत्पादन हुने इलेक्ट्रिक गाडीहरू दक्षिणपूर्वी एसिया, मध्यपूर्व, अफ्रिका, केन्द्रीय तथा दक्षिण अमेरिका, र युरेशियन बजारहरूमा निर्यात गरिनेछ।
चाङान ब्रान्ड २०२३ मा थाइल्याण्डमा प्रवेश गरेदेखि अहिलेसम्म १४,००० युनिट बिक्री भइसकेको छ, जसले कम्पनीलाई त्यहाँको टप ४ NEV ब्रान्डमा पुर्याएको छ।
नयाँ प्लान्टको उद्घाटन राइट-ह्यान्ड-ड्राइभ Deepal S05 को उत्पादनमार्फत गरिएको थियो, जुन चाँडै नेपालमा पनि लन्च हुने तयारी छ।
यो कारखाना ३९२,००० वर्गमिटर क्षेत्रमा फैलिएको छ र यसमा वेल्डिङ, पेन्टिङ, एसेम्ब्ली, इन्जिन, र ब्याट्री उत्पादन गरी पाँचवटा प्रमुख कार्यशाला छन्।
कारखाना वातावरणमैत्री ढंगले डिजाइन गरिएको छ, जसमा प्राकृतिक प्रकाश, सौर्य ऊर्जा प्रयोग, र पानी पुनः प्रयोग प्रणाली छन्।
यहाँबाट चाङान, दीपल (Deepal), र अवाटर (Avatr) ब्रान्डका गाडीहरू उत्पादन गरिनेछन्।
चाङानले थाइल्याण्डमा २ वर्षको अवधिमा ७ मोडल लन्च गरिसकेको छ, जसमा Deepal S07 र Avatr 11 विशेष रूपमा लोकप्रिय छन्।
चाङानका अध्यक्ष झु हुआरोंगले विश्वव्यापी चुनौतीबीच पनि रायोङ कारखाना कम्पनीको अन्तर्राष्ट्रिय EV रणनीतिमा मुख्य कडी बन्ने बताएका छन्।
थाइ सहकार्य र चिनियाँ विशेषज्ञतामार्फत चाङानले स्थायीत्व, स्थानियकरण, र विश्व बजारमा सशक्त उपस्थिति विस्तार गर्ने उद्देश्य राखेको छ।