सुनकोशीले बगाएको पुलको निरीक्षण गर्दै मन्त्री

नौ महिनाअघि सुनकोशी नदीको बाढीले बगेको गाईघाट–दिक्तेल सडकअन्तर्गत फोक्सिनटारको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नेतृत्वको टोलीले आइतबार निरीक्षण गरेको छ।

गाईघाटमा नवनिर्मित गाईघाट–दिक्तेल सडक योजना कार्यालयको भवन उद्घाटनपछि मन्त्री दाहाल सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई लिएर बगेको पुलको निरीक्षणमा फोक्सिनटार पुगेका थिए।

मन्त्री दाहालले पुलका लागि ३५ करोड बजेट सुनिश्चित भइसकेको र अब निर्माणको प्रक्रियामा जाने बताए।

‘पुल निर्माणको प्रक्रियाका सबै विकल्पमा छलफल गर्ने र छिट्टै निकास निकाल्छौँ,’ उनले भने, ‘पुलको बिचभाग भाँचिएको केही गर्न सकिने विकल्प भए तत्काल गर्ने र नभए नयाँ पुल निर्माणको प्रक्रिया छिट्टै सुरुवात गरिनेछ।’

सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका प्रमुख पशुपति ज्ञवालीले ३५ करोड बजेट सुनिश्चित भएपछि पुरानो ठेक्का तोड्ने प्रक्रिया सडक विभागबाट अघि बढेको बताए।

मन्त्री पुगेपछि उदयपुरको रौतामाई गाउँपालिका– ५, फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका– ८, लिच्केराम्चेका विभिन्न गाउँका स्थानीय भेला भएका थिए ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले भने भौतिक पूर्वाधारमन्त्री दाहालले पुल निर्माण कहिले हुन्छ भनेर ग्यारेन्टी गर्न नसकेको बताए । ‘पुरानो ठेक्का नतोडी पुल बन्दैन भन्छन् ।

गाईघाट–दिक्तेल सडक वर्षौँदेखि चारपटक शिलान्यास हुँदा त बन्न सकेको छैन । वर्षौँ लगाएर बनाएको पुल बाढीमा बग्यो । अब कसरी छिट्टै बन्छ भनेर विश्वास गर्नु ?’ उनले भने।

रौतामाई गाउँपालिकाका अध्यक्ष भूपिन्द्रबहादुर थापाले पनि चाँडो पुल निर्माण हुनुपर्ने बताए । रौतामाई गाउँपालिका– ५ का रामबहादुर राईले मन्त्री फोटो खिच्न मात्र आएको देखेको टिप्पणी गरे ।

‘खै फोटो मात्र खिचे, पुल बन्छ त भने । तर, कहिले बन्छ भनेर भनेनन्,’ उनले भने।

२३ चैत ०६९ मा ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौंले जिम्मा लिएको आर्क ब्रिज ०७९ चैतमा सञ्चालनमा आएको थियो । तर, ०८१ असोजमा बगेपछि ११ करोड क्षतिको मूल्यांकन गरिएको थियो ।

पुल निर्माण नहुँदा खोटाङ–उदयपुर सडकखण्ड बेलिब्रिजकै भरमा सञ्चालन हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *