जापानी मोटर निर्माता कम्पनी यामाहा मोटरले भारतीय स्टार्टअप कम्पनी रिभर इन्डीसँग सहकार्य गरेर आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर तयार पार्ने भएको छ।
कम्पनीले नयाँ स्कुटरको विकासका लागि ‘आरवाई जेरो वन’ (RYZ1) कोड नेममा मोडल तयार गर्दैछ। यो स्कुटर यामाहाले भारतमा उत्पादन गरी विश्वभर निर्यात गर्ने योजना बनाएको हो।
यसको डिजाइन, पावरट्रेन र ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) मा यामाहा र रिभरले आ-आफ्नो प्रविधि साझेदारी गर्नेछन्। यद्यपि, यामाहा स्कुटरको डिजाइन रिभरको स्कुटरभन्दा धेरै फरक हुने बताइएको छ।
यामाहाले यसका साथै ताइवानी इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी गोगोरोसँग पनि ‘आरवाई जेरो वन’ प्रोजेक्टमा सहकार्य गर्ने तयारी गरिरहेको छ।
यो स्कुटरको विकासमा यामाहाको जापानस्थित ग्लोबल इन्जिनियरिङ टिम पनि संलग्न छ। सन् २०२५ को जुलाईदेखि सेप्टेम्बरसम्ममा स्कुटर उत्पादनको तयारी पुरा हुने अनुमान छ।
यो परियोजनाले यामाहालाई भारतीय इभी बजारमा उच्च उत्पादन र प्रतिस्पर्धात्मक स्कुटर ल्याउन मद्दत गर्नेछ। साथै, यामाहाले परम्परागत रूपमा युरोपमा उत्पादन गर्दै आएको कम रेन्जका स्कुटरको रणनीति परिमार्जन गर्दै पर्फर्मेन्स ओरिएन्टेड प्लेटफर्ममा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
रिभर कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै ११ देशमा स्कुटर निर्यात गर्ने लक्ष्य राखेको छ, जसमा यामाहाको साथ रहनेछ।
हाल भारतमा इभी स्कुटर बजारमा टीभीएसको २२%, बजाजको २१%, एथरको १४%, र हिरो भिडाको ७% हिस्सा रहेको छ। यामाहाको यो रणनीतिक सहकार्यले भारतीय इभी बजारमा प्रतिस्पर्धा झनै चर्किने देखिन्छ।