अहिले रसुवागढी भन्सार कार्यालयमा गाडी राख्ने ठाउँ छैन । केही समययता ह्वात्तै बढेको विद्युतीय सवारीसाधन (ईभी) आयात संख्याले भन्सार कार्यालय भरिभराउ छ ।
यस्तै सिन्धुपाल्चोक तातोपानी (लार्चा) भन्सारमा चीनबाट आयातित गाडी राख्ने ठाउँ छैन । गाडी भित्रिएपछि भन्सार कार्यालयले आयातकर्तालाई भन्सार पास गरेर लैजान भनिरहेको छ ।
भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी ईभी आइरहेको छ, त्यसरी नै आइरहने हो भने गाडी राख्न नयाँ ठाउँ खोज्नुपर्छ । रसुवा, तातोपानी र भैरहवा नाकामा पछिल्लो समय ईभी आयात अत्यधिक बढेको छ ।
‘नयाँ ब्रान्डदेखि पुराना र चलेका ब्रान्डसम्मका गाडी आएर थुप्रिएका छन् । फागुनदेखि नै गाडी ह्वात्तै बढेको हो ।
ईभी मंसिरदेखि माघसम्म ठिकै थियो, फागुनमा अलि थपियो, चैतबाट २ गुणा बढेको छ,’ एक भन्सार अधिकृत भन्छन् ।
सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताउँछन् ।
‘फागुनयता ईभी आयात ह्वात्तै बढेको छ । धेरै गाडी अहिले पनि आउँदैछन्,’ गजुरेल भन्छन् ।
गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाहमा मात्रै शुक्रबारसम्म ९ सय ५० युनिट ईभी थन्किएको छ ।
‘अहिले भन्सार कार्यालयहरू ईभीले भरिभराउ छ । व्यवसायीले धमाधम गाडी भित्र्याउँदा राख्ने ठाउँ नै अभाव हुन थालिसक्यो,’ उनले भने ।
गजुरेलले चोभार बाहेक रसुवा र तातोपानी नाकामा मात्रै १ हजारभन्दा बढी ईभी थुप्रिएको बताए ।
‘नेपालमा आयात हुने ईभी धेरै चीनबाट छ, त्यही अनुसार अहिले व्यापारीले अत्यधिक ईभी आयात गरेसँगै भन्सार पूरै भरिएको छ,’ गजुरलेले भने ।
भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी गाडी भित्रिरहेको छ, फागुनसम्म यस्तो थिएन ।
पछिल्लो समय ह्वात्तै बढेको छ । कतिपय गाडी आयात मात्रै भएका छन् तर भन्सार समेत क्लियर भएको छैन । भन्सारमा ल्याएर थुप्राउने काम भएको छ ।
कतिपय व्यवसायीले भन्सार पास गरेर सिधै उपत्यका बाहिरको शोरुममा समेत लैजाने गरेका छन् ।
‘यहाँबाट अहिलेकै करको दरमा स्टोर गरेर राख्ने र बजेट भाषण हुने बित्तिकै नयाँ दरमा बेच्न व्यापारीले खोजेको देखिन्छ,’ एक भन्सारका अधिकारीले भने ।
Post Views: 267