बागमती प्रदेशले ल्यायो ‘टुरिस्ट ईभी’ को पहिलो मापदण्ड

बागमती प्रदेश सरकारले पयर्टक विद्युतीय सवारी साधन (टुरिस्ट ईभी) का लागि पहिलो पटक मापदण्ड तोकेको छ ।

प्रदेशले आफ्नो प्रदेशमा दर्ता भएर सञ्चालन हुने ईभीका लागि ३ वटा वर्गमा मापदण्ड तोकेको हो ।

बागमतीले सफारी ईभी, मध्यम स्तरका टुरिस्ट ईभी र ठूला टुरिस्ट इभीका लागि मापदण्ड ल्याएको हो । यस्तै टुरिस्ट ईभी पिकअपका लागि पनि प्रदेश सरकारले मापदण्ड ल्याएको छ ।

सिटी, जिप र जंगल सफारीलाई छुट्टाछुट्टै मापदण्ड

सरकारले ल्याएको मापदण्डमा ईभी सफारी अन्तर्गत सिटी सफारी, जिप सफारी र जंगल सफारीको मापदण्ड तोकिएको छ ।

सफारी अन्तगर्त सिटी सफारी र जिप सफारीमा ५ देखि १४ सिट तथा जंगल सफारीमा कम्तीमा १४ सिट अनिवार्य गरिएको छ ।

यस्तै सिटी सफारीमा प्रयोग हुने ईभीको ब्याट्री कम्तीमा २० किलोवाट, जिप सफारीको ३० किलोवाट र जंगल सफारीको ४० किलोवाट अनिवार्य गरिएको छ ।

यस्तै ग्राउन्ड क्लियरेन्स सिटी सफारीको १६५ एमएम तथा जिप सफारी र जंगल सफारीको १८५ एमएम तोकिएको छ ।

यस्तै सफारीमा प्रयोग हुने ईभीको रेन्ज १ सय ५० देखि २ सय किलोमिटरसम्म अनिवार्य गरिएको छ भने हरेक ईभीमा कम्तीमा २ वटा एयरब्याग मापदण्डमा तोकिएको छ ।

सफारीमा प्रयोग हुने ईभीमा ईभीएस अनिवार्य गरिएको छ भने अटोमेटिक फिचर पनि अनिवार्य तोकिएको छ । पार्किङ सेन्सर, हाई स्पिड अलर्ट, पार्किङ भ्यु क्यामरा जस्ता अटोमेटिक ईभी फिचर हुनुपर्ने छ ।

मझौला टुरिस्ट ईभी : ५० किलोवाट भन्दा माथिको ब्याट्री

यस्तै मझौला टुरिस्ट ईभीमा बढीमा २५ सिट तोकिएको छ । हरेक गाडी ट्रान्समिसन अटोमेटिक तोकिएको छ ।

मझौला टुरिस्ट ईभीमा ५० किलोवाटभन्दा बढीको ब्याट्री, ८० किलोवाटको मोटरपावर तोकिएको छ । यस्तै १९० एमएमको ग्राउन्ड क्लियरेन्स तोकिएको छ ।

पार्किङ सेन्सर, हाइ स्पिड अलर्ट, पार्किङ भ्यु क्यामराजस्ता अटोमेटिक इभी फिचर हुनुपर्ने छ । यस्तै एसी र साउन्ड सिस्टमविना मझौला टुरिस्ट गाडी चलाउन नपाइने मापदण्ड आएको हो ।

ठूला टुरिस्ट ईभीमा २ सय एमएम ग्राउन्ड क्लियरेन्स

यस्तै ठूला टुरिस्ट ईभीमा पनि बागमती प्रदेश सरकारले मापदण्ड तोकेको छ । २६ सिट वा त्यसभन्दा बढी सिट क्षमता भएका ईभीलाई ठूला पर्यटकीय विद्युतीय सवारीमा राखिएको छ ।

यसका लागि कम्तीमा ९० किलोवाटको मोटरपावर भएको ईभी हुनुपर्ने छ भने ब्याट्रीको क्षमता ६० किलोवाट वा त्यसभन्दा बढी हुनुपर्ने उल्लेख छ । यस्तै २ सय एमएमको ग्राउन्ड क्लियरेन्स हुनुपर्ने छ ।

त्यस्तै डबल एयरब्याग अनिवार्य गरिएको छ । एबीएस अनिवार्य तोकिएको छ भने पार्किङ सेन्सर, हाइ स्पिड अलर्ट, पार्किङ भ्यु क्यामराजस्ता अटोमेटिक ईभी फिचर हुनुपर्ने छ ।

यस्तै एसी र साउन्ड सिस्टमविना ठूला टुरिस्ट गाडी चलाउन नपाइने मापदण्ड आएको हो ।

टुरिस्ट ईभी पिकअपमा के–के छ मापदण्ड ?

बागमती प्रदेश सरकारले तोकेको टुरिस्ट ईभी मापदण्डमा पिकअपका लागि १ टनभन्दा बढी पेलोड अनिवार्य गरिएको छ ।

यस्तै पर्यटकलाई जंगल सफारी पिकअपको पछिल्लो खुला भागमा पर्यटक बस्ने आरामदायी सिटको व्यवस्था गर्नुपर्ने व्यवस्था तोकेको छ । पर्यटकलाई जंगली जनावरको आक्रमणबाट बचाउन फलामको सुरक्षित जाली (३० एमएमभन्दा बढीको ) लगाउनु पर्ने छ ।

चालक पछाडिको सिटको दुवैतर्फको झ्यालमा दुई लाइनमा (३० एमएमभन्दा बढी स्क्वायर/गोलो) फलामको बार जडान गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै पर्यटकलाई सुरक्षाका उपकरण (टर्चलाइट आदि) उपलब्ध गराउनुपर्ने छ तर जंगली जनावरलाई हानि नोक्सानी गर्ने कुनै पनि उपकरण, धारिला वस्तु उपलब्ध गराउन नपाइने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *