भारत-पाकिस्तान तनावले नेपाली उडानमा असर

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण भारतीय वायुसेवा कम्पनीका लागि पाकिस्तानको ‘एयरस्पेस’ ((हवाई क्षेत्र) बन्द छ । तर, तेस्रो मुलुकका वायुसेवा कम्पनीलाई यस्तो अवरोध छैन ।

मंगलबार रातिबाट भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेको छ । पाकिस्तानले सबै विमानस्थल बन्द गरेको खबर सार्वजनिक गरेका छन् ।

यस अवस्थासम्म नेपाली उड्डयन क्षेत्रले प्रत्यक्ष कुनै प्रभाव भोग्नुपरेको छैन । तर, भारत र पाकिस्तानबीच युद्ध चर्किने अवस्था आए त्यसको प्रत्यक्ष असर नेपालसम्म आइपुग्ने छ । त्यो हो– हवाई उडान बन्द ।

नेपालबाट दक्षिण पश्चिम भेगमा रहेका देशले अहिले पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउने गर्छन् । सबै गल्फ मुलुक तथा युरोपबाट आउने जहाजले यो रुट प्रयोग गर्छन् ।

पाकिस्तानले भारतमाथि समेत मिसाइल प्रयोग गर्ने अवस्था आए वा यो प्रक्रिया भयावह हुने अवस्था आए व्यावसायिक उडान उक्त रुटमा स्वतः बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् ।

त्यसो हुँदा तेस्रो मुलुकसँग नेपालको हवाई सम्पर्क तत्कालका लागि टुट्न सक्छ । यद्यपि, भारतीय सहरबाट नेपालमा हुने उडान भने प्रभावित हुने सम्भावना छैन ।

‘नेपाल आउने जहाजले पनि पाकिस्तानको एयरस्पेस प्रयोग गर्न पाएनन् भने पूरै भारतीय एयरस्पेस प्रयोग गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यस अवस्थामा साविकको उडान समय केही बढ्न सक्छ, तर तत्काल उडान बन्द हुँदैनन् ।’

तर, युद्ध अझ चर्कियो भने व्यावसायिक उडान युद्धग्रस्त क्षेत्रको आकाशबाट उड्न जोखिमपूर्ण हुन्छ । अहिले नेपालमा चीन र भुटानबाट आउने जहाज पूर्वी नेपालको सीमा हुँदै आउँछन् ।

मलेसिया, सिंगापुरजस्ता देशबाट आउने जहाज समेत पूर्वी नेपालबाट आउँछन् । भारत–पाकिस्तान तनावले पश्चिम नेपालबाट आउने जहाज भने प्रभावित हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *