तीनढ्वाङ्गे खहरेको पुल पुनर्निर्माण नहुँदा सास्ती

धरान उपमहानगरपालिका–८ स्थित मदन भण्डारी राजमार्गमा रहेको तीनढ्वाङ्गे खहरे पुल भत्किएको १ वर्ष बित्न लाग्दा पनि पुनर्निर्माणमा सरकारले चासो नदेखाउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

२०८० चैतमा निर्माण सम्पन्न भएको धरान–८ अरुण टोलस्थित तीनढ्वाङ्गे खहरेको पुल निर्माण सम्पन्न भएको ५ महिना नबित्दै गत साउन महिनामै भत्किएको थियो ।

पुल भत्किएको करिब १० महिना पुग्न लाग्दा समेत सरकारले पुनर्निर्माण गर्न चासो नदेखाएको भन्दै स्थानीयले गुनासो गर्दै आएको छ ।

पुल भत्किएसँगै बर्खा याममा हिँडडुल गर्न त्रास बढेको स्थानीय जीवन तामाङले बताए ।

मदन भण्डारी राजमार्गको यो खण्ड बनाउँदा नयाँ पुल निर्माण गर्नुपर्नेमा पूरानै जीर्ण पुलमाथि कालोपत्र गरेका कारण भार थाम्न नसकेर भत्किएको उनले बताए ।

समयमा पुलको निर्माण हुन नसक्दा स्थानीयले घुमाउरो बाटो हिँड्नु परेको छ ।

पुल नभएका कारण बालबालिका विद्यालय जाँदा तथा सर्वसाधारण आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

गत असोजमा भत्किएको पुलकै कारण एक जनाले ज्यान गुमाउनु परेको उनले बताए । पुल भत्किएर बर्खामा खहरेको पानी थुनिएर बस्ती डुबानमा पर्ने जोखिम बढेको स्थानीयको गुनासो छ ।

‘पोहोर बर्खामा भत्केको पुल यसपालि पुनः बर्खा सुरु हुन लागिसक्दा पनि बनाउन चाँजोपाँजो मिलाएको देखिँदैन,’ स्थानीय विमल राईले भने ।

६ दशकअघि निर्माण भएको यो पुल ठाउँ–ठाउँमा भत्किन सुरु भइसकेको र जीर्ण अवस्थामै थियो ।

राजमार्ग कालोपत्र हुँदा नयाँ पुल पनि बनाउनुपर्नेमा जीर्ण पुलमाथि पुल निर्माण गरेका कारण स्थानीयले सास्ती खेप्नुपरेको राईले बताए ।

राई भन्छन्, ‘ घुमेर जाँदा धेरै टाढा समय धेरै लाग्ने भएकोले जोखिम मोलेर भत्किएकै पुलबाट आवतजावत गर्न बाध्य छन् ।

तर सवारीसाधन भने कुदाउन सकिने अवस्था छैन । साधनहरू घुमाएर अर्कोबाट जान बाध्य छन् ।’

पुल भत्किएर सडक अवरुद्ध हुँदा बिशेषगरी पूर्वका विभिन्न ठाउँबाट बिरामी लिएर वीपी प्रतिष्ठान आउने एम्बुलेन्सलाई बढी समस्या भएको स्थानीय पुनम तामाङ बताउँछिन् ।

पुल भत्किएर सडक अवरुद्ध भए पश्चात् एम्बुलेन्स र अन्य साधन भानु चोक वा अन्य बाटोबाट घुमेर प्रतिष्ठान जान बाध्य छन् ।

‘यो बाटोबाट अस्पताल पुग्न छोटो दुरी थियो तर अहिले भानु चोक हुँदै जानुपर्ने हुँदा बिरामी सकसमा परेका छन्,’ उनले भनिन् ।

ब्रिटिस घोपा क्याम्प स्थापना हुँदा विसं २०१७ सालमा घोपा जान सहज र छोटो दुरी हुने भएकोले फलामको पाताको ३ वटा ढ्वाङ्ग राखिएर ३२ फुट लम्बाइको यो पुल निर्माण गरिएको धरान–८ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

‘मदन भण्डारी राजमार्ग निर्माण हुँदा नयाँ पुल बनाउन चासो नदिएर जीर्ण संरचनामाथि पिच गर्दाको परिणाम हो,’ वडाध्यक्ष राईले भने, ‘पुल जीर्ण बनिसकेको थियो भने कतै भत्कन पनि थालिसकेको थियो ।

यस्तो अवस्थामा नयाँ पुल बनाउनुपर्नेमा त्यसमाथि नै मदन भण्डारी राजमार्ग आयोजनाले पिच गरेर लापरबाही गर्दा यो अवस्था सिर्जना भएको हो ।’

पुरानो पुलमै पिच गर्ने बेलामा स्थानीयले विरोध समेत गरेको वडाध्यक्ष राईले सुनाए ।

‘त्यति बेला नयाँ पुल बनाउने आश्वासन दिएर नै कालो पत्र गरिदिएको थियो तर केही समयमा नै पुरानो पुलले भार थाम्न नसकेर पुल भत्कियो,’ उनले भने ।

२०८० मा नेपाल सरकारको लगानीमा दुई लेनको मदन राजभण्डारी राजमार्ग कालो पत्र गरिएको थियो ।

राजमार्ग कालो पत्र बनाउने ठेक्का मोती दान निर्माण कम्पनी काठमाडौँले पाएको थियो ।

ठेकेदार कम्पनीका प्राविधिक ईसाहाक राईले कर्ल्भट र कालो पत्र गर्ने ठेक्का मात्र पाएकोले जीर्ण पुलमै कालो पत्र गरिएको बताएका थिए ।

धरान उपमहानगर उपप्रमुख आईन्द्रविक्रम बेघाले गत मङ्गलवार वडाध्यक्ष राईसँग उक्त पुलको अनुगमन गरेको बताए ।

उनका अनुसार पुल निर्माण नभइन्जेलसम्म अस्थायी प्रकृतिको क्याबिन लाएर कल्भर्टबाट पानी बगाउने योजना बनाइएको छ ।

पुलको पुनर्निर्माणका लागि मदन भण्डारी राजमार्ग आयोजनासँग कुरा भएकोले छिट्टै पुल निर्माण प्रक्रिया सुरु हुने वडाध्यक्ष राईले बताए ।

यो खहरेमा धरानको बजार क्षेत्रको ड्रेनहरूको पानी मिसाइएकाले बर्खामा ठुलो बाढी आउने गर्छ ।

अस्थायी प्रकृतिको क्याबिन लाएर कल्भर्टबाट पानी बगाउने नगरपालिकाले तयारी गरे पनि पनि त्यसमा स्थानीयले सङ्कोच व्यक्त गरेका छन् ।

बाढी थाम्न नसकेर गाउँमा पस्ने स्थानीयमा डर छ । बाढीको प्रत्यक्ष जोखिममा दुई सय भन्दा बढी घर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *