काठमाडौंबाट रारा तालसम्म बस चलाउने तयारी

काठमाडौदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली बिहीवार काठमाडौंबाट राराका लागि हिँडेको छ ।

पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरू पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न बिहीवार नेपाल पर्यटन बोर्डको प्रांगणबाट रारातर्फ लागेका हुन् ।

उनीहरूलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गरेका छन् । बिदाइका क्रममा बोर्डका वरिष्ठ निर्देशक ऐरले अध्ययन भ्रमणको शुभकामना व्यक्त गर्दै भने, ‘यस भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउनेछ ।

आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि यसले योगदान दिनेछ । कर्णालीलाई सुगम गन्तव्यका रूपमा चिनाउने यो अभियान महत्त्वपूर्ण हुनेछ ।’

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताउँदै भने, ‘काठमाडौदेखि रारा जाने यो नै सही सिजन हो ।

यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पुऱ्याउन सक्यौं र यसका लागि थप प्याकेजहरु बनाउन सक्यौं भने रारामा पर्यटकहरुको संख्यामा वृद्धि हुनेछ ।

काठमाडौदेखि रारासम्म पहिलो पर्यटक बस यात्रा भएकोले यो ऐतिहासिक हुनेछ, जुन नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण कोशेढुंगा बन्नेछ ।’

भ्रमण टोलीमा पर्यटन क्षेत्रका व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *