हवाई यातायातले जोडेको संसार

नेपालजस्तो हिमाली भूगोल भएको देशमा यातायात विकासको सन्दर्भमा हवाई सेवा अत्यन्त महत्त्वपूर्ण विकल्पका रूपमा स्थापित हुँदै आएको छ ।

यहाँको भौगोलिक विविधता, विकटता र सडक सञ्जालको सीमितताले गर्दा, नेपालमा हवाई यातायात एक विकल्प नभई अपरिहार्य माध्यम हो ।

ऐतिहासिक प्रारम्भ र महत्त्वपूर्ण मितिहरू

नेपालमा हवाई यातायातको सुरुवात दुई महत्त्वपूर्ण मितिसँग जोडिएको छ । पहिलो, २३ अप्रिल १९४७ मा तत्कालीन भारतीय राजदूत सरजित सिंह महाथिया चार सिट क्षमताबीच बोनान्जा विमानमा चढेर भारतको पटनाबाट काठमाडौंको गौचर विमानस्थलमा अवतरण गरे ।

यस दिनलाई नेपालमा हवाई जहाजको पांग्रा गुड्ने र पखेटा उड्ने पहिलो ऐतिहासिक क्षणको रूपमा लिइन्छ ।

दोस्रो महत्त्वपूर्ण मिति भनेको ३१ डिसेम्बर २०२३ हो, जुन दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले स्थापना भएको २५ वर्ष पूरा गरी रजत जयन्ती मनायो ।

यी दुई मितिबीचको करिब ७७ वर्षको अवधिमा नेपालको हवाई यातायात क्षेत्रमा व्यापक संस्थागत र संरचनागत विकास भएका छन् ।

प्रारम्भिक चरणमा प्रयोगात्मक रूपमा सुरु भएको हवाई सेवा आज देशको पर्यटन, व्यापार, स्वास्थ्य र आपत्कालीन उद्धार सेवाको मेरुदण्ड बनिसकेको छ ।

संस्थागत विकासका चरणहरू
नेपालको हवाई क्षेत्रमा भएका प्रमुख संस्थागत विकासहरूलाई हेर्दा, यस क्षेत्रको विस्तार र सुदृढीकरण क्रमिक रूपमा भएको देखिन्छ ।
–    सन् १९५७ – निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको स्थापना
–    सन् १९५८ – शाही नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को स्थापना
–    सन् १९६० – नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सदस्यता ग्रहण
–    सन् १९७२ – बोइङ–७२७ को आगमनसँगै नेपालले जेट युगमा प्रवेश
–    सन् १९७५ – त्रिभुवन विमानस्थलमा १०,००० फिट लामो धावनमार्ग निर्माण
–    सन् १९९२ – निजी क्षेत्रका एयरलाइन्स सञ्चालनमा आएको, वायुसेवा क्षेत्रमा उदारीकरण
–    सन् १९९७ – पहिलोपटक एअर ट्राफिक नियन्त्रण प्रणालीमा राडार प्रणाली स्थापना
यी सबै विकासहरूले नेपाललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा समेट्ने आधार तयार गरेका छन् ।

क्यानको स्थापना र पछिल्लो २५ वर्ष
सन् १९९८ मा हवाई विभागको सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को स्थापना गरियो । यसको उद्देश्य नेपालको हवाई क्षेत्रमा समन्वय, नियमन र पूर्वाधार विकासलाई एकीकृत र पारदर्शी बनाउनु रहेको छ । क्यानको स्थापनापश्चात्का २५ वर्षमा निम्न उल्लेखनीय क्रियाकलापहरू भएका छन् ।
–    सन् २००५ – निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानको सुरुवात
–    सन् २००७ – दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (वर्तमान पोखरा र भैरहवा) को स्थान छनोट
–    सन् २०१३ – युरोपेली संघले नेपाली एअरलाइन्सलाई आफ्नो आकाश प्रयोग गर्न निषेध
–    सन् २०२२ – भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
–    सन् २०२३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
यी सबै परियोजनाहरूले देशको आन्तरिक तथा बाह्य उडान क्षमतामा अभूतपूर्व वृद्धि ल्याएका छन् ।

हालको अवस्था र एयरलाइन्सहरूको संख्या
हाल नेपालमा दर्जनभन्दा बढी आन्तरिक विमान सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा छन्, जसमध्ये प्रमुखहरूमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, तारा एयर आदि पर्छन् । अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्ससँगै अन्य २८ कम्पनीहरूले हवाई सेवा दिँदै आएका छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलले सेवा दिइरहेका छन् ।

साथै, देशभर ५० भन्दा बढी आन्तरिक विमानस्थलहरू रहेका छन्, जसमध्ये करिब २० नियमित सेवा सञ्चालन हुने अवस्थामा छन् ।

हवाई सेवा र अर्थतन्त्रमा भूमिका
नेपालको भौगोलिक अवस्था र पर्यटकीय महत्त्वका कारण हवाई सेवा केवल यात्रु ओसारपसारको माध्यम मात्र नभई अर्थतन्त्रको एक महत्त्वपूर्ण खम्बा हो ।

विशेषगरी पर्यटन, व्यापार, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा, र ग्रामीण क्षेत्रको पहुँच विस्तारमा यसको
प्रभाव देखिन्छ ।

पर्यटन क्षेत्र  :  नेपालमा आउने विदेशी पर्यटकको ठूलो हिस्सा हवाई मार्गद्वारा प्रवेश गर्छन् । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी त्रिभुवन विमानस्थलमार्फत नेपाल आएका थिए ।

विदेशी मुद्रा आम्दानी :  अन्तर्राष्ट्रिय उडान, कार्गो सेवा र विदेशी एयरलाइन्समार्फत नेपालले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।
रोजगारी :  यो क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हजारौं मानिसहरू रोजगारीमा आबद्ध छन्, जसले आन्तरिक खपत र उपभोगमा पनि प्रभाव पार्छ ।

भावी सम्भावनाहरू
नेपालको हवाई यातायात क्षेत्रमा विशाल सम्भावनाहरू विद्यमान छन्, जसको उपयोग गर्न सकिएमा देशको समग्र आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय पहिचानमा गुणात्मक सुधार ल्याउन सकिन्छ ।

सबैभन्दा पहिले नेपाललाई क्षेत्रीय हबको रूपमा विकास गर्ने सम्भावना अत्यन्त आकर्षक छ ।

नेपालको भौगोलिक अवस्थिति दक्षिण एशिया, चीन र मध्य एसियाबीचको मिलनबिन्दुमा परेको छ, जसले गर्दा यसलाई पूर्व–पश्चिम र उत्तर–दक्षिण ट्रान्जिट मार्गको केन्द्र बनाउने अपार सम्भावना छ ।

यदि पूर्वाधार र हवाई नीति स्पष्ट र प्रतिस्पर्धी बनाइयो भने नेपालले बंगलादेश, भारत र चीनजस्ता देशहरूबीचको ‘कनेक्टिङ हब’ को रूपमा स्थान लिन सक्छ ।

दोस्रो, हवाई मालवाहन (कार्गो) सेवा नेपालको अर्थतन्त्रका लागि अर्को महत्त्वपूर्ण सम्भावना हो ।

विशेषगरी नेपाली जडीबुटी, फलफूल, तरकारी, ऊनी कपडा, हस्तकला सामग्री आदि उच्च मूल्य र संवेदनशील वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच सुनिश्चित गर्न हवाई कार्गो सेवा अनिवार्य बन्न गएको छ ।

उपयुक्त नीति, भन्सार प्रक्रियामा सुधार र ढुवानी संरचना सुदृढीकरणका माध्यमबाट नेपालले ठूलो मात्रामा निर्यात वृद्धि गर्न सक्छ ।

तेस्रो, घरेलु विमान मर्मत केन्द्रको स्थापना पनि महत्त्वपूर्ण सम्भावना हो । हाल नेपाली विमानहरूलाई मर्मतका लागि इजरायल, सिंगापुर, स्पेन आदि देशमा पठाइन्छ, जसबाट ठूलो मात्रामा समय र खर्च जाने गर्दछ ।

यदि नेपालमै अन्तर्राष्ट्रियस्तरको एमआरओ सेवा केन्द्र स्थापना गर्न सकियो भने देशभित्रै रोजगारी सिर्जना हुने मात्र होइन, दक्षिण एसियाभित्रकै सेवा केन्द्रको रूपमा नेपालले आफूलाई स्थापित गर्न सक्छ ।

यसका लागि दक्ष जनशक्ति विकास, पूर्वाधार निर्माण र नीति स्पष्टता अनिवार्य छ ।

निष्कर्ष
नेपालको हवाई यातायात क्षेत्र विगतको इतिहास, वर्तमानको प्रयास र भविष्यका सम्भावनाहरूको संगम हो ।

भौगोलिक चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै, नेपालले हवाई यातायातलाई विकासको मेरुदण्ड बनाउने दिशामा उल्लेखनीय कदम चाल्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, पोखरा र भैरहवामा नयाँ विमानस्थलहरूको निर्माण, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका प्रयासले देशको समग्र प्रगति र पहुँचलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

विशेषगरी, नियमनकारी संस्था र सेवा प्रदायकबीचको स्पष्ट विभाजन, हवाई सुरक्षा मापदण्डको पालना, प्राविधिक क्षमता सुदृढीकरण र राष्ट्रिय ध्वजावाहकको सुदृढीकरणजस्ता विषयमा गहिरो ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *