राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा करिब ६ महिनाअघि बनाइएको बाँसको अस्थायी पुल मंगलबार आएको बाढीले बगाएपछि आवतजावत ठप्प भएको छ।
बाढीले अस्थायी पुल बगाएपछि मोटरसाइकल, साइकल तथा पैदलयात्रुहरूको समेत आवतजावत बन्द भएको हो।
सिरहा नगरपालिका– ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने कमला पुलको दक्षिणतर्फ बाँसमा प्लाई राखेर १७ कात्तिकदेखि संचालन गरिएको अस्थायी पुल सोमबार रातीदेखिको वर्षासँगै आएको बाढीले बगाएको हो।
‘बाँसको पुल हुँदा कम्तिमा मोटरसाइकल, साइकल र पैदाल यात्रुलाई वारपार गर्न सहज थियो,’ सिरहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘अस्थायी पुलसमेत बाढीले बगाएपछि हिम्मत गर्ने पैदलयात्रीहरु पुलको उत्तरतर्फ बनाइएको बाँसको भर्याङबाट जोखिम मोलेर आवातजावत गर्न बाध्य छन्।’