फेला परेन जमिनमुनि हराएको गाडी

हेटौँडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना.४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) तीन दिन बित्दा पनि फेला परेको छैन ।

गाडी भासिएको हेटौँडा उपमहानगरपालिका– १६ र १७ को सीमानजिकै गैरीगाउँको उक्त सडकमा पानीको दह बनेको छ ।

घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा शुक्रबार रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो ।

तर, जग लगाएर निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

गाडीका चालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए ।

गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँचवटा पोखरी र बोरिङसमेत छ ।

राईले नै दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुन सक्ने अनुमान गरेका छन् ।

गाडी खोजीका लागि शनिबार दिनभर दुईवटा मोटरले पानी बाहिर फालिएको थियो । तैपनि फेला नपरेको डिएसपी अर्यालले बताए । ‘शनिबार दिनभर गाडी खोजेका हौँ, आइतबार खोजेनौँ ।

विपत् व्यवस्थापन समितिको बैठकले विज्ञको टोली ल्याउने निर्णय गरेको छ,’ उनले भने, ‘गाडी भासिएको ठाउँलाई सुरक्षित राखेका छौँ । अब विज्ञको टोली आएपछि पुनः खोजी सुरु हुनेछ ।’

भासिएको गाडीको कुनै निसाना नदेखिएपछि आइतबारदेखि गाडी भासिएको स्थानसँगै जोडिएको माछापोखरीको माछा र पानी निकाल्न थालिएको छ । पोखरी खाली गरेपछि गाडी खोजी गर्न सहज हुने प्रवक्ता अर्यालले बताए ।

गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा दिनभरजसो मानिसहरूको भिड लाग्ने गरेको छ ।

गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकायका प्रमुखलगायत घटनास्थल पुगिसकेका छन् ।

माछापोखरी र भासिएको गाडीका धनी एउटै भएकाले आइतबारबाट माछा निकालेर पोखरीबाट पानी सुकाएर गाडी खोज्ने सल्लाह भएको डिएसपी अर्यालले बताए । गाडी भासिएको वरिपरि बस्ती भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *