हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान  गायब भएको छ ।

भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।

गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर  जोगिएका छन् ।

‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’

घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ ।

बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।

पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । पानी कटाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *