के हो नाडामा चौधरी–गोल्छा विवाद ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा चुनाव अघिदेखि नै सुुरु भएको करण चौधरी र आकाश गोल्छाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा गरिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

डेढ वर्षअघि भएको महाधिवेशनमा अध्यक्षका प्रत्यासी यी दुईबीचको विवाद अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा हुने गरी टुंगिएको थियो ।

अर्को कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान समेत संशोधन गरिएको थियो । तर, निर्वाचनपछि पनि यो विवाद निरन्तर कायमै थियो ।

यसबीच गोल्छाले राजीनामा दिने पनि बताएका थिए । तर, अहिले आएर चौधरीले अचानक वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा झारेपछि विवाद बाहिर आएको हो ।

४७औैं साधारणसभा अगाडि नाडामा वरिष्ठ उपाध्यक्षको व्यवस्था थिएन । तर, उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षको पद राख्नेमात्र होइन, ऊ अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरेको थियो ।

त्यसअघि तीन जना मनोनित सदस्य हुने गरेकोमा त्यसलाई पाँच पुर्‍याउने व्यवस्था समेत साधारणसभाबाट भएको थियो ।

सोही अनुसार गोल्छा वरिष्ठ उपाध्यक्ष भएका थिए भने कार्यसमितिले अभिक ज्योति र निशान ढकाललाई केन्द्री सदस्य बनाएको थियो ।

तर, उक्त साधारणसभाले विधानमा गरेको संशोधन जिल्ला प्रशासन कार्यालयमा बुझाइ कार्यालयबाट स्वीकृत गराउनुपर्ने थियो ।

तर, नाडाको ४८औं साधारणसभा सकिँदा पनि त्यसअघिको साधारणसभाले गरेको विधान संशोधन प्रस्ताव जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी नगराएको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले संशोधित विधानलाई मान्यता नदिएपछि त्यसअनुसार बनेका पदाधिकारीलाई जिल्ला प्रशासन कार्यालयले स्वीकार नगरेको नाडाका पदाधिकारी बताउँछन् ।

‘अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई पहिलेबाट नै बाइपास गर्न खोजेका थिए ।

सोही अनुसार साधारणसभाबाट पास भएको व्यवस्थाबारे सीडीओ कार्यालयलाई जानकारी नै गराएनन्, विधान स्वीकृति नै गराएनन् ।

अहिले गोल्छालाई सोही व्यवस्था देखाएर सदस्यमा सीमित गरिएको हो,’ नाडाका एक कार्यसमिति सदस्य भन्छन् ।

तर, गोल्छा अर्को सामानान्तर संस्था ‘नाइमा’ स्थापनामा सक्रिय भएको झोँक फेर्न चौधरीले उनलाई घटुवा गरिदिएको स्रोतहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *