कीएभमा रुसी क्षेप्यास्त्र हमला

युक्रेनको राज्य आपत्कालीन सेवाले बिहीबार बिहान कीएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ ।

कीएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ ।

युक्रेनी अधिकारीहरूले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र एएफपीका पत्रकारहरूले राजधानीभरि विस्फोटको आवाज सुनेको बताएका छन् ।

‘रुसले कीएभमा ठूलो संयुक्त आक्रमण सुरु गरेको छ,’ युक्रेनको राज्य आपत्कालीन सेवाले टेलिग्राममा टोल अपडेट गर्दै भनेको छ, ‘प्रारम्भिक तथ्यांकअनुसार नौ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।’

अस्पतालमा भर्ना भएका ४२ जना मध्ये छ जना बालबालिका थिए ।

आक्रमणले राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी समेत भएको छ ।

राज्य आपत्कालीन सेवाका अनुसार आक्रमणले आवासीय भवनहरूलाई क्षति पुर्‍याउँदा भग्नावशेषमुनि परेका मानिसहरूको खोजी जारी छ ।

यस अघि कीएभमा अप्रिलको सुरुमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि यो छिटपुट आक्रमणको लक्ष्य बनेको छ ।

युक्रेनको पूर्वमा खार्किभ सहरमा बिहीबार बिहान सातवटा क्षेप्यास्त्र प्रहार भएको सहरका मेयर इगोर टेरेखोभले बताउनुभयो । पछि उहाँले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताउनुभयो ।

‘हालैको एउटा आक्रमणमा सघन जनसङ्ख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ…त्यहाँ दुई जना घाइते भएका थिए । शत्रु आक्रमण स्थलहरूको निरीक्षण भइरहेको छ,’ टेरेखोभले सहरका बासिन्दाहरूलाई ‘सावधान रहन’ आग्रह गर्दै भने ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले कीएभ, खार्किभ र अन्य सहरहरूमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *