नेपालमा सेवा र गुणस्तरका आधारमा ट्याक्सीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
१४ चैत २०८१ मा स्वीकृत भएको यो मापदण्डले यसअघि २०७६ सालमा ल्याइएको पुरानो मापदण्डलाई विस्थापित गरेको हो ।
नयाँ दर्ता हुने, पुरानो ट्याक्सीको सट्टामा नयाँ दर्ता हुने वा यो मापदण्ड लागु हुनुभन्दा अगाडि नै ट्याक्सीका रूपमा सञ्चालनमा रहेका सवारीले समेत नयाँ मापदण्ड अनुसार अब नियमन हुनुपर्ने भएको छ ।
मन्त्रालयका अनुसार अब ट्याक्सीलाई आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायत आधारमा तीन वर्गमा वर्गीकरण गरिएको छ । जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी वर्गीकरण तोकिएको छ ।
वर्गीकरणका लागि सरकारले आवश्यक सुविधा र सर्तसमेत तोकिदिएको छ ।
यातायात व्यवस्था विभागबाट अब वर्ग कायम गरेरमात्र ट्याक्सी सञ्चालकले सेवा दिन पाउने भएका छन् ।
अबदेखि ट्याक्सीमा वर्गाकार पारदर्शी प्लास्टिकभित्र रातो रंङमा कम्तीमा ६० मिलिमिटर उचाइ र ८ मिलिमिटर मोटाइका अंग्रेजी अक्षरमा ‘ओ’, ‘डी’ र ‘वाई’ टाँस्नु पर्ने भएको छ ।
हरेक ट्याक्सीमा चार स्थानमा यस्तो स्टिकर टाँस्नु पर्ने सर्त राखिएको छ ।