फेमे खोलामा बेलिब्रिज योजना

असोज महिनामा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएको फिदिम नांगीन फालौट मार्गस्थित फेमे खोलाका लागि संघीय सरकाले बेलिब्रिज उपलब्ध गराउने भएको छ ।

फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानका लागि संघीय सरकारले उपलब्ध गराएको पुल ढुवानी र जडानको दायित्व भने कोशी प्रदेश सरकारले व्यहोर्नु पर्नेछ ।

यहाँको पुल गत असोज १२ गते भएको अविरल वर्षासँगै आएको बाढीले बगाएको थियो । पुल बगाएपछि हृयुम पाइपमार्फत डाइभर्सन गरेर सवारी र ढुवानी वारपार गराइँदैछ ।

हिउँदभर डाइभर्सनका भरमा चलेको यो स्थानमा पुल नबन्दा पुनः वर्षा लागेपछि सडक अवरुद्ध हुने निश्चित रहेको भन्दै स्थानीय जनप्रतिनिधि र सांसदहरुले पटक–पटक ध्यानाकर्षण गराएसँगै संघीय सरकार बेलिब्रिज उपलब्ध गराउन सहमत भएको हो ।

संघीय सरकार अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख ९ गतेको मन्त्री परिषद् निर्णय अनुसार उक्त बेलिब्रिज कोशी प्रदेश सरकारलाई उपलब्ध गराउन पत्राचार गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव रमेशप्रसाद पौडेलले कोशी प्रदेश सरकारलाई पत्र लेख्दै संघीय सरकारले उपलब्ध गराउने पुल ढुवानी र जडान खर्च भने व्यहोर्न भनेका छन् ।

संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने निश्चित भए पनि कोशी प्रदेश सरकारले ढुवानी र जडानका लागि प्रक्रिया सुरु गरेको छैन ।

प्रदेश सरकारले प्रक्रिया नै सुरु नगर्दा यहाँ बेलिब्रिज जडान हुन्छ कि हुँदैन ? भन्नेमा स्थानीयले शंका गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *