जाजरकोटमा पहिलोपटक पेट्रोल पम्प सञ्चालन

जाजरकोटमा पहिलोपटक औपचारिक रूपमा पेट्रोल पम्प सञ्चालनमा आएको छ। भेरी नगरपालिका– ४ को बोहरा गाउँमा ‘मुक्ति बस्नेत सप्लायर्स’ले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो।

यसअघि जिल्लामा पेट्रोल पम्प नहुँदा स्थानीयले ड्रम र जर्किनबाट तेल खरिद गर्दै आएका थिए। अब भने नियमित, सुरक्षित र शुद्ध इन्धनको आपूर्ति हुने आशा गरिएको छ।

मंगलबार बिहान आयोजित उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले पेट्रोल पम्पकाे उद्घाटन गरे।

उनले पेट्रोल पम्प नहुँदा स्थानीयवासी तथा कार्यालयहरूलाई ठुलो समस्या हुने गरेको उल्लेख गर्दै अब सहज आपूर्ति हुने विश्वास व्यक्त गरे।

‘शुद्धता कायम हुनुका साथै अब उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन्,’ खत्रीले भने।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जिल्लामै पहिलोपटक नेपाल आयल निगमअन्तर्गतको पेट्रोल पम्प सञ्चालनमा आउनु सुखद पक्ष भएको बताए।

‘सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंकजस्ता संस्थाहरूको सवारीसाधन चलाउन सहजता आउनेछ,’ प्रजिअ मग्रातीले बताए।

यातायात व्यवसायी भीमबहादुर बुढाले पेट्रोल पम्प सञ्चालनसँगै अब सवारीसाधनमा तेल भर्न सहज हुने प्रतिक्रिया दिएका छन्।

पम्प सञ्चालक वीरबहादुर बस्नेतले दश वर्षअघिदेखि सुरु गरेको प्रयास अहिले आएर सफल भएकोमा खुसी व्यक्त गरे। ‘सबैको सहयोग र साथले आज यो सम्भव भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *