पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माण थालिएपछि खुसी भएका स्थानीय निराश बन्न थालेका छन् ।
पुल बन्न थालेको १३ वर्ष बित्दै गर्दा मुलुकमा ११ जना प्रधानमन्त्री फेरिए, तर पुल निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दाको सास्ती उस्तै छ ।
दैनिक कामका लागि कमला नदी वारपार गर्नैपर्ने स्थानीय बासिन्दा, हुलाकी सडक हुँदै धनुषा र सिराहातर्फ आवतजावत गर्नेहरूले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् ।
गत साता सामान्य बर्खा हुँदा आएको बाढीले कमला हुँदै धनुषातर्फ जाने क्रममा विवाहको टीकाटालोका लागि कोसेली बोकेको स्कर्पियो फसेपछि ट्याक्टरले निकाल्यो ।
कमला तटमा पर्ने सिराहा नगरपालिका– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, ‘सामान्य बर्खामै समस्या छ, मनसुन लागेपछि अवस्था झन् कष्टकर हुनेछ ।
कमलामा बन्न थालेको पुल अन्तिम चरणको काम हुँदै गर्दा बाढीले भासिएपछि करिब चार वर्षको अवधिमा दर्जनौँपटक मन्त्री, सांसदहरू आए तर पुल पुनर्निर्माण सुस्त रह्यो,’ उनले भने ।