जाजरकोटमा तीनवटा पुल शिलान्यास

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जाजरकोटमा तीनवटा पुल शिलान्यास गरेका छन्। पश्चिम जाजरकोटमा दुईवटा बेलिब्रिज र एउटा पक्की पुल शिलान्यास गरिएको हो।

गत शनिबार दुईवटा र आइतबार एउटा पुलको शिलान्यास गरिएको मन्त्रीका प्रमुख स्वकीय सचिव ललित बस्नेतले जानकारी दिए।

जाजरकोट पश्चिमको छेडाचाँदे सडकखण्डअन्तर्गत शिवालय– ९ र छेडागाड– १ जोड्ने रिठेखोला मोटरेबल पुल, छेडागाड– ६ देखि जुनीचाँदे– ५ जोड्ने  बेलिब्रिज र मनाघाट बेलिब्रिजको शिलान्यास गरिएको हो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टालगायतको उपस्थिति थियो।

पुल शिलान्यास गर्दै मन्त्री शाहले जाजरकोटका जनताले विगतका दिनहरूमा भोग्दै आएको कष्टकर यात्रा तथा दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री ढुवानीसम्मको समस्या अब अन्त्य हुने बताए।

आफूले निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार कामहरू धमाधम सुरु भएको उनको दाबी थियो।

शिलान्यास गरिएका पुलको कार्य समयमै सम्पन्न हुने बताउँदै मन्त्री शाहले निर्माण कम्पनीलाई पनि गुणस्तरीय काम गर्न निर्देशन दिए।

रिठेखोलामा पुल नहुँदा यस क्षेत्रका नागरिकले भोग्दै आएको समस्या समाधान हुने आशा जागेको छेडागाड नगरपालिका– १ का पूर्ववडाध्यक्ष गणेश प्रसाद जैसीले बताए।

यसैबिच मन्त्री शाहले छेडागाड– ६ र जुनीचाँदे– ४ जोड्ने कालेखोला मोटरेबल पुलको समेत स्थलगत निरीक्षण गरेका थिए।

लामो समय अलपत्र परेको उक्त पुल समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *