वायुसेवा सञ्चालक कम्पनीको चुक्ता पुँजीमा भारी वृद्धि गरिएको छ । एयरलाइन्स कम्पनीहरूलाई व्यवस्थित गर्न सरकारले पहिलोपटक हवाईसेवा व्यवस्थापन नियमावली, २०८१ कार्यान्वयनमा ल्याएसँगै चुक्ता पुँजी बढाइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नियमावली गत मंगलबार मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएको छ ।
यससँगै नागरिक उड्डयनसम्बन्धी संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि, २०६६ र नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाईसेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ खारेज गरिएको छ ।
अहिलेसम्म मन्त्रालयले नागरिक उड्डयनसँग सम्बन्धित संस्थाहरूलाई इजाजतपत्र दिनेदेखि राजस्व उठाउनेसम्मका काम कार्यविधिमार्फत गर्दै आएको थियो ।
कार्यविधिबाट राजस्व उठाइएको भन्दै महालेखाले समेत प्रश्न उठाउँदै आएको छ । समयसापेक्ष हवाईसेवा व्यवस्थापन नियमावली ल्याइएको पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।
अन्तर्राष्ट्रिय वायुसेवातर्फ फिक्स्ड विङ (जहाज) वा हेलिकोप्टर सञ्चालन गर्ने ‘क’ वर्गका वायुसेवालाई एक अर्ब २५ करोड, ‘ख’ वर्गका लागि एक अर्ब र ‘ग’ वर्गका वायुसेवा कम्पनीलाई ७५ करोड चुक्ता पुँजी तोकिएको छ ।
यसअघि अन्तर्राष्ट्रिय उडान गर्ने सबै प्रकारका वायुसेवाको चुक्ता पुँजी कम्तीमा ५० करोड हुनुपर्ने व्यवस्था थियो ।
यस्तै, नियमावलीमा आन्तरिक वायुसेवाअन्तर्गत फिक्स्ड विङ वायुयान सञ्चालक कम्पनीका लागि ७५ करोड र हेलिकोप्टर सञ्चालक कम्पनीका लागि ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।
यसअघि फिक्स्ड विङ र हेलिकोप्टर दुवै कम्पनीको चुक्ता पुँजी १५ करोड हुनुपर्ने व्यवस्था थियो । सरकारले नियमावलीमार्फत मनोरञ्जनात्मक वायुसेवा र प्रशिक्षण संस्थाको चुक्ता पुँजी घटाएको छ ।
इन्जिन नजोडिएका वायुयान सञ्चालन गर्ने मनोञ्जनात्मक उड्डयन संस्थाका लागि २० लाख र इन्जिन जोडिएका वायुयान सञ्चालन गर्ने मनोरञ्जनात्मक उड्डयन संस्था एवं मनोरञ्जनात्मक उड्डयन प्रशिक्षण संस्थाका लागि ५० लाख चुक्ता पुँजीको व्यवस्था गरिएको छ ।
यसअघि चुक्ता पुँजी एक करोड हुनुपर्ने व्यवस्था थियो ।