निगमले जहाजको किस्ताबापत चैतमा ५३ करोड बुझायो

नेपाल वायुसेवा निगम (नेवानि)ले न्यारोबडी र वाइडबडी जहाजको चैत महिनामा ५३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ ।

निगमले चारवटा जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये चैतमा दुई न्यारोबडीको पूरै र दुई वाइडबडीको आंशिक किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।

निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेतृत्व सम्हालेपछि निगमले ०८१ चैतसम्म सात अर्ब ३९ करोड पाँच लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको बताइएको छ ।

निगमको नेतृत्वमा युवराज अधिकारी ८ कात्तिक ०७८ मा नियुक्ति भएर आएका थिए । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको समयमै किस्ता भुक्तानी गर्न नसक्दा दायित्व करिब ५० अर्ब पुग्न थालेको छ ।

निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्न सरकारकै जमानीमा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।

सञ्चय कोष र निगमबिच ४ असार ०७० मा दुई न्यारोबडी एयरबस–३२० खरिद गर्न १० अर्ब रुपैयाँ र २८ जेठ ०७४ मा एउटा वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँको ऋण सम्झौता भएको थियो । अर्को दिन २९ जेठ ०७४ मा निगमले लगानी कोषसँग पनि अर्को वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको थियो ।

निगमले न्यारोबडी जहाज ०७१ मा र त्यसको तीन वर्षपछि ०७४ असार र साउनमा वाइडबडी जहाज भित्र्याएको थियो ।

निगम व्यवस्थापनले ऋणमा खरिद गरेका जहाजहरू पूर्ण क्षमतामा उडाउन नसक्दा नियमित किस्ता भुक्तानीमा समस्या भइरहेको छ ।

जसले गर्दा निगम जहाज खरिद गर्न लिएको ऋणले थिचिँदै गइरहेको छ । निगमले जापान, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा उडान गर्न भनेर वाइडबडी जहाज खरिद गरेको थियो ।

तर, अहिलेसम्म जापानबाहेक अरू देशमा उडान गर्न सकेको छैन ।

निगमले वाइडबडी उडाउँदा पनि घाटा व्यहोरिरहेको छ । यी जहाजहरू पटक–पटक ग्राउन्डेड हुने र मर्मत–सम्भारमा लापरबाही गर्दा निगमले अर्बौँ रुपैयाँ आम्दानी गुमाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *