कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर एक दिनसम्म समय लाग्ने अवस्था छ। पचालझरना गाउँपालिका– ६ देखि रास्कोट नगरपालिका– १ सम्म पुग्न पनि मानिसलाई पैदल एक दिन लाग्छ।
तर पछिल्लो समय लालु लैफु सडकको रास्कोट पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय एक डेड घण्टामा झरेको छ।
रास्कोट नगरपालिका– ८ का स्थानीय देउमनी धमालालले भने, ‘हामी सानो उमेरमा बर्दियाको राजापुर र कैलाली चिसापानीसम्म नुन लिन जाँदा हाम्रो गाउँमा यसरी मोटर गुड्ला जस्तो लागेकै थिएन।
सुर्खेत जुम्ला सडकखण्डले कालीकोट सदरमुकामबाटै गाडी चढ्ने अवसर दियो। राष्ट्रिय राजमार्गमा हुम्लालाई जोड्ने कर्णाली करिडोरले कर्णालीको छाल सान्नीगाडसम्म यातायात सेवा लिने अवसर दिलायो। विगतको भन्दा अहिले हाम्रो दुर्गम भनेर हेंला गरिने गाउँहरू नै सुगम भएका छन्।’
तोकिएको समयभन्दा अगाडि काम
संघ र प्रदेश सरकारको साझेदारीमा लालुलैफु राजमार्गको बिभिन्न खण्डमा सडक निर्माण र नालासहित ग्राभेलको काम भइरहेको छ।
जसमध्ये रास्कोट नगरपालिका– ५ देखि पचालझरना गाउँपालिका–९ कोटिलासम्मको करिव ८ किलोमिटर कडा चट्टानी भाग केके/एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको छ।
‘२०८० सालको पुसमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले झन्डै ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ।
बायो इन्जिनियरिङको कामबाहेक अरू सबै काम अबको दुई महिनाभित्र पूरा हुने अवस्था छ।
अहिले सुक्खा भएकाले वर्षायाममा बायो इन्जिनियरिङको काम गर्नुपर्नेछ’, पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले भने, ‘सबै निर्माण व्यवसायीले काममा लापरबाही गर्दैनन् भन्ने उदाहरण पनि हो।
३० महिना अवधिको यो काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको छ।’
उनका अनुसार अहिले उक्त सडक खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ। कुल २८ करोडको लागतमा निर्माण हुने उक्त सडकमा २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भयो।
पूर्वाधार विकास कार्यालय कालीकोटका लेखा प्रमुख लभविक्रम शाहका अनुसार गत वर्ष १४ करोड रुपैयाँ खर्च भयो। चालु आवमा ५ करोड रुपैयाँको काम अन्तिम चरणमा रहेको छ।
निर्माण व्यवसायी मानव बमले लालुलैफु रामारोशन पर्यटकीय सडकमा मात्र नभई आफूले जिम्मा लिएका सबै आयोजनाहरूमा समयमै निर्माण सम्पन्न गर्दै आएको बताए।
कालीकोट पचालझरना निवासी प्रदेशसभा सदस्य दक्षिणा शाहीले लालुलैफु रामारोशन सडकको रास्कोट पचालझरना सडक खण्ड जस्तै अन्य खण्डहरू पनि छिटो, छरितो निर्माण सम्पन्न गर्न पहल भइरहेको बताइन्।