मौसम बिग्रँदा रामेछाप लुक्ला उडान ठप्प

रामेछाप र लुक्लाको मौसममा खराबी आएसँगै बिहीबार बिहानदेखि रामेछाप विमानस्थलबाट सोलुको लुक्ला र फाप्लुतर्फ हुने उडान ठप्प भएको छ ।

केही दिनदेखि लगातार रूपमा लुक्लाको मौसम खराबीका कारण नियमित जहाजले उडान भर्न सकेका थिएनन् । जहाजले उडान भर्न नसकेपछि पर्यटकहरू हेलिकोप्टर चार्टर गरी जाने गरेका थिए ।

आज बिहानदेखि रामेछाप र लुक्ला दुवैतर्फको मौसम खराबी भएका कारण बिहानदेखि नै हेलिकोप्टरले समेत उडान भर्न सकेका छैनन् ।

दुवैतर्फ बाक्लो हुस्सु लागेका कारण उडान हुन नसकेको नेपाल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मौसम खुल्ने प्रतीक्षामा सयौँ विदेशी पर्यटकहरू रामेछाप विमानस्थलमा कुरेर बसेका  छन् ।

रामेछापमा बिहानदेखि वर्षासमेत भइरहेको छ । मौसम खराबी भएर जहाज चल्ने निश्चित नभएपछि केही पर्यटकहरू गाडी रिजर्भ गरेर सोलुको फाप्लु हुँदै सुर्केतिर लागेका छन् ।

रामेछाप विमानस्थलबाट तीन निजी कम्पनी तारा, सीता र समिट एयरले पर्यटकहरूलाई सेवा दिँदै आएका छन् ।

मौसम खुलेको समयमा रामेछाप विमानस्थलबाट लुक्ला सरदर ४५ देखि ५० वटासम्म उडान हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *