स्पाइस जेट २७ वैशाखदेखि नेपाल आउने

सस्तो भाडा दरमा उडान गर्ने भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेटले पाँच वर्षपछि पुनः नेपाल उडान गर्ने भएको छ ।

स्पाइस जेटले २७ वैशाख २०८२ (१० मे २०२५) देखि नेपालका लागि दैनिक एक उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

स्पाइस जेटको नेपालका लागि ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) मा हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रालि नियुक्त भइसकेको छ ।

‘स्पाइस जेटले आगामी वैशाख २७ देखि भारतको नयाँदिल्लीबाट दैनिक एक उडान गर्ने छ,’ जीएसए हिमालयन ग्लोबलकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) संगिता रौनियारले अनलाइनखबरसँग भनिन्, ‘निकट भविष्यमा दैनिक दुई उडान गर्ने योजना छ ।’

उनका अनुसार स्पाइस जेटले दिल्लीबाट काठमाडौंका लागि १ सय ८९ सिट क्षमतायुक्त ‘बोइङ ७३७’ जहाज प्रयोग गर्ने छ । यसका सबै सिट इकोनोमी क्लास हुन् ।

स्पाइस जेटले प्रत्येक बिहान ९ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र यहाँबाट १०ः५५ बजे दिल्ली फर्किने तालिका बनाएको छ ।

सीईओ रौनियारका अनुसार स्पाइस जेटबाट काठमाडौं–दिल्ली उडान गर्न प्रतियात्रु भाडा दर १७ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि पनि लामो समय नेपाल उडान गरेको स्पाइस जेटले कारोना महामारीपछि नेपला उडान बन्द गरेको थियो ।

स्पाइस जेटले हाल ९७ जहाजबाट संसारका ९३ गन्तव्यमा उडान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *