मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, मोटरसाइक्लिङ स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स र रोड सेफ्टी लगायतका क्षेत्रमा क्रियाशील बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको प्रथम साधारण सभा तथा निर्वाचन चितवन उद्योग वाणिज्य संघको सभाहलमा चैत २४ गते आइतबार सम्पन्न भयो।
बागमती प्रदेशका ८ जिल्लाका अटोमोबाइल व्यवसायी, खेलाडी तथा प्राविधिकहरू, साहसिक र खेल पर्यटन प्रवर्धकहरू, दिगो सडक र सुरक्षित यातायातका क्षेत्रमा संलग्न विज्ञ तथा अभियन्ताहरूको सहभागितामा सम्पन्न सो साधारण सभाले चितवनका राजन पियाको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा राम कुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा पियुष गजुरेल, दिपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित हुनुभएको छ।
सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यहरूमा आरुषी थापा र विमल पौडेललाई मनोनयन गरेको छ।
एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका सचिव कमल अधिकारी र मिडियाकर्मी एकराज सुवेदी सहितको निर्वाचन समितिले सो निर्वाचन सम्पन्न गरेको थियो।
सो अवसरमा साधारण सभाले १) चितवन महिला मोटर–याली तथा नेपाल अटो जिमखाना आयोजना गर्ने २) भरतपुर–सिगात्से–ल्हासा मोटर र्याली जस्ता अन्तर्राष्ट्रिय र्यालीको आयोजना गर्ने ३) नेसनल अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने ४) भरतपुर महानगरमा कार्ट्स सेन्टर निर्माण गर्ने ५) हेटौडामा ट्रयाक निर्माणमा सहयोग गर्ने ६) भरतपुरमा मोटरसाइकल कार्निभल आयोजना गर्ने ७) वाटर स्पोर्ट्स गेमको आयोजना गर्ने ८) युथ फर रोड सेफ्टी वर्कशप सम्पन्न गर्ने ९) सदस्यता वृद्धि, मार्सल र ड्राइभर तालिम आयोजना गर्ने १०) राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवसायिक संघ–महासंघहरूमा आवद्ध हुने तथा सहभागिता जनाउने ११) अटोमोबाइल क्षेत्रको विकास, साहसिक पर्यटन तथा महिला सशक्तिकरणमा क्रियाशीलता बढाउने १२) बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने
गरी १२ वटा कार्ययोजना पारित गरेको छ।
साधारण सभाको उद्घाटन नेपाल अटोमोबाइल्स एसोसिएन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसालले गरेका थिए।
कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिवद्वय सन्तोष न्यौपाने र दिप्रश शाक्य, सहकोषाध्यक्ष कमला क्षेत्री, ट्रेिनिङ कमिसनका सचिव आशीष रौनियार, मोटरस्पोर्टस् मेनेजर किरण धिताल, र ई–स्पोर्ट्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी लगायतको उपस्थिति थियो।
बागमती प्रदेश खेलकुद विकास परिषदकी बोर्ड सदस्य नवीना खनिया र एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई समेतको उपस्थितिमा सम्पन्न सो साधारण सभामा तदर्थ समितिको तर्फबाट प्रगति प्रतिवेदन र संशोधित विधान प्रस्ताव प्रस्तुत गरियो, जसलाई साधारण सभाले सर्वसम्मतले पारित गर्यो।
स्मरण रहोस्, सोही संघको आयोजनामा मार्सल ट्रेिनिङ तथा ड्राइभर ओरिएन्टेसन कार्यक्रम सम्पन्न भएको छ भने भोलि सोमबार चितवन महिला मोटर–याली र स्पेसल स्टेजको रूपमा नेपाल अटो जिमखाना नामक प्रतिस्पर्धा चितवनमा नै आयोजना हुँदैछ।