तातोपानी नाकाको सडक समस्या अझै उस्तै

नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानीको अवस्था अझै सामान्य भइसकेको छैन। असोजको बाढी र पहिरोले बगाएका सडक र पुलहरू बन्न बाँकी नै छ।

अस्थायी रूपमा सडक खुलाइए पनि सडक मर्मत र पुनर्निर्माणको काम सुस्त गतिमा भइरहेको छ।

गएको असोजको बाढीले भत्काएका सडक र पुलहरू अझै पूर्ण रूपमा बनेका छैनन्।

त्यति बेला सडक अवरुद्ध हुँदा सयौं कन्टेनर बीच बाटोमै थन्किए जसले गर्दा चीनबाट सामान आउन सकेन। अहिले अस्थायी रूपमा बाटो खुलेको छ तर पानी परेपछि फेरि रोकिने जोखिम छ।

तातोपानी नाकाबाट हरेक दिन १० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रिन्छ।

विद्युतीय गाडी, लत्ताकपडा, जुत्ता, फलफूल, मोबाइल फोन, ल्यापटप, टेलिभिजन, खाद्यान्न, पेयपदार्थ र निर्माण सामग्रीजस्ता सामान यिनै नाकाबाट नेपाली बजारमा आइपुग्छन्। तर यति धेरै सामान ओसारपसार हुने सडकको अवस्था भने निकै दयनीय छ।

नेपाल हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष भरत कार्की भन्छन्– ‘तातोपानीको सडक त झन् बिजोग छ। अलिकति पानी पर्‍यो कि बाटो नै बन्द हुन्छ।’ तातोपानी क्षेत्रको मुख्य पुल बगाएको महिनौं भइसक्यो तर कहिले पुनर्निर्माण हुन्छ भन्ने टुङ्गो छैन।

अहिले ह्युमपाइप राखेर गाडी सामान्य रूपमा चल्ने अवस्था मात्र छ।

अहिले व्यापारको सुस्त समय भएकाले ठूला मालवाहक गाडीहरू कम आउँछन् तर केही दिनमै सामान ओसारपसार बढ्न थाल्नेछ।

कार्की भन्छन्– ‘राज्यले समयमै ध्यान दिएन भने तातोपानी नाका नै बन्द हुने खतरा छ।’

लिपिङ बजारमा खोलामाथि बेलिब्रिज राखिएको भए पनि मितेरी पुलतिरको जमिन कमजोर बनेको छ।

यदि यसपालि जमिनलाई तलैबाट रिटेनिङ वाल नलगाए त्यो भागले काम नगर्ने सम्भावना छ। तर स्थायी पुनर्निर्माणको काम भने अझै शुरू भएको छैन। तातोपानी नाका अरनिको राजमार्गमा पर्छ।

यो सडक खण्ड सुधारका लागि बन्देउ–बाह्रबिसे र बाह्रबिसे–लिपिङ गरी दुई खण्डमा ठेक्का आह्वान गरिएको छ।

बाह्रबिसेदेखि लिपिङसम्मको सडक अहिले पनि जीर्ण छ र कालोपत्रे गरिएको छैन।

कोदारी र डाख्लाङ क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ। डाख्लाङमा ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने कोदारीमा पनि पर्खाल निर्माणको तयारी हुँदैछ।

यस्तो अवस्थामा अबको वर्षाको समयमा तातोपानी नाका सहज रूपमा सञ्चालनमा आउन सक्ने सम्भावना कम छ।

दोलखाको डिभिजन सडक कार्यालयका सूचना अधिकारी सुरज महर्जनका अनुसार असोजको बाढी पहिरोले क्षति पुगेका सडकमा साना–साना ठेक्कामार्फत सामान्य मर्मत गरिएको छ।

वर्षाअघि जोखिम क्षेत्रको पहिचान गरी दुर्घटना हुन नदिन प्रयास भइरहेको उनले बताए। बाँकी सडक खण्डका लागि नयाँ ठेक्का आह्वान भइसकेको छ र दुई वर्षभित्र सबै काम सक्ने योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *