तीनपटक म्याद थप्दा पनि बनाइएन आकाशे पुल

चक्रपथका विभिन्न स्थानमा निर्माणाधीन तीन आकाशे पुलको ठेक्का तोड्ने प्रक्रिया काठमाडौं चक्रपथ सुधार योजनाले अगाडि बढाएको छ। निर्माण कम्पनीले काम अलपत्र पारेपछि योजना कार्यालयले यस्तो निर्णय लिएको हो।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै योजनाले महर्जन/पूर्णचण्डी/ड्रामा र महर्जन/पूर्णचण्डी/सप्तपथ जेभीलाई तीन दिनको समय दिएको छ। उक्त अवधिमा काम अगाडि नबढाए ठेक्का रद्द गरेर कम्पनीलाई कालोसूचीमा राखिने जनाएको छ।

सानेपा, महालक्ष्मीस्थान र बल्खुमा आकाशे पुल निर्माणका लागि २०७४ सालमा सम्झौता गरिएको थियो।

बल्खुमा पुल निर्माणका लागि २०७४ भदौ २९ गते ४ करोड ६ लाख ७८ हजार रुपैयाँमा ठेक्का दिइएको थियो। २०७५ मंसिर २९ गतेसम्म काम सक्ने सम्झौता भए पनि तीनपटक म्याद थपेर २०८१ असार मसान्तसम्म पुर्‍याउँदा समेत हालसम्म जग खन्नेबाहेक काम भएको छैन।

सानेपाको आकाशे पुल निर्माणका लागि २०७४ असार २८ गते ४ करोड १९ लाख २२ हजार रुपैयाँमा सम्झौता गरिएको थियो।

२०७५ असोज २८ गतेभित्र सक्ने लक्ष्य राखिए पनि तीनपटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन।

त्यस्तै, महालक्ष्मीस्थानको आकाशे पुलका लागि पनि सोही दिन ४ करोड ३२ लाख ४३ हजार रुपैयाँमा सम्झौता भएको थियो।

तर यहाँ पनि तीनपटक म्याद थप्दा समेत काम अधुरै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *