हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुई वटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ ।
सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।
गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो, जसको लम्बाई करिब पाँच किलोमिटर छ । त्यस्तै दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ ।
साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको हो ।
चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ ।
साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ ।
डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकालाई पुनर्निर्माण गर्न दिइने तयारी छ ।
यस्तै अरनिको राजमार्ग, थानकोट चित्लाङ, मेची राजमार्ग, कान्ति राजमार्गलगायत क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए ।
‘बाढीले क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । अब पुलहरूको बाँकी हो ।
पुल निर्माणको ठेक्का आह्वान गर्नका लागि डजाइन एण्ड बिल्ड निर्देशिका स्वीकृत हुनुपर्छ । यो स्वीकृत हुनेबित्तिकै पुलको ठेक्का आह्वान थाल्छौँ,’ उनले भने ।
गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ ।
सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो ।
यसमध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो ।