आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो ।

आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो ।

सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ ।

योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।

अब काठमाडौँ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।

तर, अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै नै खुलिसक्थ्यो ।

अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ ।

अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *