पोखरामा जारी अटो शोमा गाडी बुकिङमा उत्साह देखिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)द्वारा पोखराको अमरसिंहचौरमा आयोजित अटो शोको तेस्रो दिनसम्म करिब सय वटा चारपाँग्रे गाडीहरु बुकिङ भएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए ।
कतिपय डिलरहरुले गाडी डेलिभरीसमेत गरिसकेको र बुकिङ भएका गाडीहरु छिट्टै डेलिभरी हुने कम्पनीहरुले जनाएका छन् ।
अटो शोमा इभी गाडीहरुमा आकर्षण देखिएको छ । यद्यपि आइस गाडीहरुमा पनि दर्शकहरुको चासो उत्तिकै छ । अटो शोको तेस्रो दिन शनिबारसम्म ७ वटा क्रेटा इभी बुकिङ भएका छन् ।
मेड इन नेपाल भेन्यु पनि बुकिङ भइरहेको हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । त्यसैगरी विद्युतीय गाडी ओमोडा तथा जेकोमा पनि दर्शकहरुको आकर्षण देखिएको छ ।
तीन दिनमा ओमोडा र जेको गरी १० वडा गाडी बुकिङ भएको छ । इलाइट मोटर्स नै पोखरा डिलर रहेको निशानको म्याग्नाइट गाडी १३ वटा बुकिङ भएका छन् ।
अटो शोमा आकर्षक स्टलसहित बिवाइडीले एम६, एट्टो ३ र डल्फिन गाडी प्रदर्शनीमा राखेको छ । बिवाइडीले पनि अटो शोमा ९ वटा गाडी बुकिङ गर्न सफल भएको छ ।
टाटाले पनि अटो शोमा ३ वटा मोडलका विजुली गाडीहरु प्रदर्शनीमा राखेको छ । कर्भ, टियागो र पञ्च गरी टाटाले अटो शोमा १० वटा गाडी बुकिङ गर्न सफल भएको छ ।
दुई वटा गाडी डेलिभरीसमेत भइसकेको पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता दिपमोटर्स प्रालिका प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिए ।
एमजी गाडीमा पनि आकर्षण देखिएको छ । एमजीका गाडीहरु १५ वटा बुकिङ भएको पोखरा डिलर दिपलक्ष्मी ब्राइट इन्टरनेशनलका सञ्चालक नूरज बाटाजूले जानकारी दिए ।
हालैमात्र नेपालमा सार्वजनिक भएको एमजीको एस५ इभीले ग्राहकलाई आकर्षित गर्न सफल भएको हो । अटो शोमा दिपल गाडी ३ वटा बुकिङ भएको छ । स्काइवेल पनि २ वटा बुकिङ भएको कम्पनीले जनाएको छ ।
अन्य ब्राण्डहरुले पनि बुकिङ लिइरहेका छन् । कम्पनीले आकर्षक अफरहरु ल्याएकाले पनि ग्राहकहरु गाडी बुकिङका लागि आकर्षित भएका छन् ।
अटो शोमा दुईपाँग्रे सेवारी बुकिङमा पनि आकर्षण देखिएको आयोजकको भनाइ छ । ३ दिनमा करिब सय कै संख्यामा दुईपाँग्रे बाइक तथा स्कुटर बुकिङ भइसकेका छन् ।
बजाज र ट्राइम्प बाइकका लागि पोखराको बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिका सञ्चालक आघोषमान बुद्धाचार्यले दुईपाँग्रे सवारीका स्टलहरुका युवाहरुको विशेष आकर्षण देखिएको बताए ।
‘बजाज र ट्राइम्म बाइकमा दर्शकको आकर्षण देखिएको छ,’ उनले भने । ३ दिनमा १० ट्राइम्प बाइक बुकिङ भएको र ३ वटा पल्सर बुकिङ भएको बुद्धाचार्यले जानकारी दिए ।
३ दिनसम्म गाडीहरु बुकिङ उत्साहजनक देखिएको वाडाका कोषाध्यक्ष अशोक चालिसेले बताए ।
‘हामीले ४ दिनसम्म सय भन्दा बढी चारपाँग्रे गाडी बुकिङ हुने अपेक्षा गरेका थियौं, तीन दिनमा करिब सय गाडी बुकिङ भइसकेको रिपोर्ट प्राप्त भएको छ ।
अटो शोको अन्तिम दिन आइतबार बुकिङ अझै बढ्ने हामीले विश्वास लिएका छौं ।’
आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरु छन् ।
हुन्डाईले इभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको छ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गरेका छन् । चैत १४ गते सुरु भएको अटो शो १७ गते आइतबार सम्पन्न हुनेछ ।