विदेशी सवारीसाधनमा थप २५ प्रतिशत कर लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपुर्जामा चर्को कर घोषणा गरेका छन्। अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

ट्रम्पको बुधबार अपराह्नको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ।

जापानका प्रधानमन्त्री सिगेरु इसिबाले टोकियोले ‘सबै प्रकारका प्रतीकारात्मक उपायहरू विचार गरिरहेको’ बताएका छन् भने क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’को संज्ञा दिएका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ प्रतिक्रिया दिएका छन्।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।’ यो शुल्क अमेरिकी समयअनुसार अप्रिल ३ राति १२ः०१ बजेपछि लागू हुनेछ।

यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ। अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन्।

ट्रम्पले क्यानडा र युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्‍याउन मिलेर काम गरेमा ‘हालको योजनाभन्दा धेरै ठुलो मात्रामा कर लगाउने चेतावनीसमेत दिएका छन्।

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्यून ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए।

उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे।

ट्रम्पका सहयोगी तथा टेस्लाका मालिक एलन मस्कले भने वासिङ्टनको करले आफ्नो फर्मको कारमा लागत प्रभावलाई ‘प्रभावित’ नगरेको बताएका थिए।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर लगाउनुका साथै स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन्।

ट्रम्पको घोषणाअघि नै जनरल मोटर्स र स्टेलेन्टिसको सेयर तीन प्रतिशतभन्दा बढीले घटेको थियो।

जापानमा कार निर्माता कम्पनी निसानले २.५ प्रतिशत, होन्डाले ३.१ प्रतिशत र मित्सुबिसी मोटर्सले ४.५ प्रतिशतले गुमाएका छन् भने माज्दा र सुबारुले करिब ६ प्रतिशतले सेयर मूल्य गुमाएका छन्।

दक्षिण कोरियाको हुन्डाई कम्पनी सियोलमा २.७ प्रतिशतले पछि परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *