मकवानपुरको मनहरीमा रात्रि बसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरस्थित प्रहरी चौकी अगाडी प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।
गएराति करिब ३ बजेको समयमा यात्रु बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको थियो ।
चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।
म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरीले जनाएको छ ।
दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
मृतकको शव सोही अस्पतालमा रहेको र बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले चालकलाई कारबाही गर्नुपर्ने माग गर्दै राजमार्ग बन्द गरेका हुन्।