बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

क्षमताभन्दा बढी तौलका मालबाहक सवारीसाधन गुडाउँदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् ।

बढी तौलका सवारी साधन गुडाउँदा बेलिब्रिज जीर्ण भएको र दुर्घटनाको जोखिमसमेत बढेको छ ।

बेलिब्रिजमा क्षति हुँदा अन्तरदेशीय व्यापारिक कोरलानाका जोड्ने सडकमा यातायात ठप्प हुन्छ ।

भारबहन क्षमता अधिकतम १८ मेट्रिकटन रहेको बेलिब्रिज बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ खोला, वडा नं ३ दानाको रुप्सेखोला, बेनी र पर्वतको बगरफाँटको सिमाना कालीगण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापाखोलामा रहेका छन् ।

एक पटकमा एउटा मात्र सवारी साधन तार्न मिल्ने बताउँदै निर्माण र खाद्य सामग्री बोकेका १८ मेट्रिकटनभन्दा बढी तौल भएका ट्रक, टिपर, लरी, टेलर बेलिब्रिजबाट तारिँदा भाँचिने र भत्किने जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

क्षमताभन्दा बढी तौलका सवारीसाधन बेलिब्रिजबाट गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले निगरानी थालिएको जानकारी दिँदै उनले, ‘भार थाम्न नसकेर बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेपछि केही दिनदेखि म्याग्दीबाट मुस्ताङ जाने सवारी साधनलाई पोखरेबगर र मुस्ताङबाट बेनीतर्फ आउने बेलिब्रिजको क्षमताभन्दा बढी तौलका सवारी साधनलाई जोमसोममै रोक्न थालेको बताए ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकका पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारी साधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको छ ।

बेनी–जोमसोम–कोरला आयोजनाले बेलिब्रिजहरूमा क्षमताभन्दा बढी तौलका सवारीसधान सञ्चालन नगर्न आवश्यक जानकारीसहित सूचना बोर्ड राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *