सिराहाको औरही गाउँपालिका– ५ मा हुन गइरहेको विष्णु महायज्ञस्थलबाट कथित ‘अछुत’ भन्दै घर भत्काएपछि बिचल्लीमा परेका दीपक मल्लिकले आफू र परिवारको सुरक्षाको माग गर्दै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटेका छन् ।
राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासमानसहित मंगलबार मुख्यमन्त्री सिंहलाई भेटेका उनले किटानी जाहेरी दर्तासँगै कानुनी पक्रिया अगाडि बढेपछि आफूहरूले असुरक्षा महसुस गरेको गुनासो गरे ।
मल्लिकले शान्ति सुरक्षासहित बसोबास, पालिकामा आफू र श्रीमतीले गर्दै आएको रोजगारीको सुरक्षाका लागि पहल गरिदिन पनि आग्रह गरे ।
९ चैतमा जिल्ला प्रहरी कार्यालय सिराहामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको भोलिपल्ट महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्ष दिलीपकुमार यादवविरुद्ध अनुसन्धानका लागि सिराहा जिल्ला अदालतले पाँच दिनको म्याद थपेपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
किटानी जाहेरीमा प्रतिवादी बनाइएका मूल पुजारी बजरंगी बाबा फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई अनुसन्धानका लागि म्याद थप हुनुअघि नै आफूलाई डरत्रास देखाउँदै मिलापत्र गर्न दबाब दिइरहेको गुनासो गर्दै मल्लिकले बाँसको कटेरोमा श्रीमती छोराछोरीलाई छाडेर आफू अन्यत्र बसिरहेको बताए ।
‘पालिका अध्यक्षका आफन्त, उनका पार्टीका मानिसहरूले डरत्रास देखाउँदै मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ उनले भने ।
मुख्यमन्त्री सिंहले महायज्ञस्थलबाट डोम परिवारको घर हटाएको मिडियामार्फत थाहा पाएलगत्तै तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकमार्फत घटनाबारे जानकारी लिएको बताए ।
‘मल्लिकले पनि मूलतः सुरक्षित बसोबास, रोजगारीको सुरक्षाको कुरा उठाएका छन्,’ उनले भने, ‘यस विषयमा प्रदेश सरकार गम्भीर छ ।’
संघीय संसद्मा पनि संसदीय छानबिनको कुरा उठिरहेकाले त्यसको रिपोर्ट अएपछि प्रदेश सरकारले वास्तविकता बुझेर अगाडि बढ्ने उनले बताए ।
‘पीडित भनिएका मल्लिकको पनि फरक–फरक व्यक्तिसँगको कुराकानी भिडियोमा देखेको छु,’ उनले भने, ‘अदालतमा गइसकेको विषय भएकाले प्रदेश सरकारले गम्भीरतापूर्वक हेरिरहेको छ ।’
मल्लिक श्रीमान्–श्रीमतीले पालिकामा सरसफाइ कर्मचारीका रूपमा गर्दै आएको रोजगारी कसैले चाहेर पनि नखोसिने उनले बताए ।
‘मल्लिक परिवारको सुरक्षित घर बनाउन प्रदेश सरकारले निर्णय गर्दै छ,’ उनले भने, ‘सरकारी काम भएकाले समय लागे पनि घर भने बनाइदिन्छौँ ।’