तमोर करिडोर (धरान-पाँचथर-ताप्लेजुङ) सडकले पहाड र तराईको दुरी छोटो बनाएको छ।
तमोर किनारमा पाँचथरका पाखा भित्ता भएर बनेको उक्त सडक कालोपत्रे हुँदै गर्दा अर्कोपट्टि तेह्रथुमको पाखा भित्ताका सर्वसाधारण भने अलमलमा थिए।
पारिपट्टि पक्की सडक, तर बीचमा तमोरको भंगालो। तमोर किनारै-किनार सडक बनेपनि नदीको तेह्रथुमतर्फको भुगोलमा हुनेहरूलाई सडकले छोएको थिएन। उनीहरू यता न उताको अवस्थामा थिए।
धरान झर्न कि उनीहरू हिड्दै झोलुङ्गे पुल तरेर तमोरपारि जानुपर्थ्यो, कि त शुक्रबारेबाट हिले-धनकुटा सडकबाट तल झर्नुपर्थ्यो।
तर अब भने तेह्रथुमको भुगोलमा रहेका सर्वसाधारणले पनि तमोर करिडोरबाटै तराई झर्न पाउने भएका छन्।
सिधुवा-शुक्रबारे-फाक्चामारा-हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिने भएको हो।
हाक्पाराघाटमा पाँचथरपट्टि तुम्बेवा गाउँपालिका छ, तेह्रथुमपट्टि छथर गाउँपालिका। त्यसो त यहाँ छथर र तुम्वेवालाई जोड्ने योजना नयाँ भने होइन ।
तर राजनीतिक नेतृत्व र जिम्मेवार सरकारी निकायको बेवास्ता, निर्माण कम्पनीको लापरबाही र स्थानीयबासीको असहयोगले हाक्पाराघाटमा पुल निर्माणको काम अलपत्र परेको थियो।
पुल निर्माण अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दुई जिल्लाका जनप्रतिनिधि र प्रशासकहरूले हाक्पाराघाट पुगेर निकास खोजेका छन्। पुल निर्माणमा देखिएका अफ्ठ्यारा टार्न पूर्व सहरी विकासमन्त्री सीता गुरुङ आफैँ हाक्पाराघाट पुगेकी छन्।
‘यो पुल बन्नुपर्छ भनेर मैले सुरुदेखि नै निरन्तर दबाब दिइरहेँ। तर अहिले पनि काम पूरा हुन सकेको छैन,’ उनले भनिन्, ‘अब योभन्दा पनि धेरै ढिला हुनुहुँदैन भनेर निर्माण कम्पनी र स्थानीयबीच समझदारी गराएका छौँ ।’
तमोर करिडोर कालोपत्रेको काम अघि बढ्दा पुलसम्म पुग्ने पुरानो पहुँच सडक नै माँसिएको र नयाँ पहुँच सडकका लागि स्थानीयबासीको असहमति हुँदा पुल निर्माणको काममा असर परेको थियो।
स्थानीयबासी, स्थानीय जनप्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूसमेतको उपस्थितिमा छलफलपछि अब उक्त पुल निर्माणको काम ०८३ को मंसिरभित्र पूरा गरिसक्ने सहमति भएको छ।
पूर्वमन्त्री गुरुङसँगै लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ, छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का, स्थानीय वडाध्यक्षहरू हाक्पाराघाट पुगेका थिए।
उनीहरूले काम गर्ने वातावरण तय भएकाले अब समयमै निर्माणको काम पूरा गर्न निर्माण कम्पनीको प्रतिबद्धता समेत लिएका छन्।
हाल सिधुवा-शुक्रबारे सडक कालोपत्रे भइसकेको छ भने शुक्रबारेदेखि पञ्चकन्यासम्मको सडक पनि स्तरोन्नतिको क्रममा छ।
पन्चकन्यादेखि हाक्पाराघाटसम्म भने सडकको ट्र्याकमात्रै छ। यहाँ सडकको ट्र्याक खुलेको दशक बितिसकेको छ।
उक्त पुल निर्माणको ठेक्का पनि ०७६ असोजमै लागेको हो। ‘योजना संघीय सरकारले बनायो।
तर पछि यी आयोजनाहरू प्रदेश सरकारमा हस्तान्तरण भए। त्यसपछि निर्माणको काम प्रदेशले गरिरहेको छ,’ गुरुङले भनिन्, ‘यो बहुवर्षीय ठेक्काअन्तर्गत निर्माण भइरहेको छ।’
१४६ मिटर लम्बाइ रहेको उक्त पुल निर्माणका लागि सुनसरीको इलाइट-सूर्य जेभीले २२ करोड ३७ लाख १८ हजार २८५ रुपैयाँमा ठेक्का पाएको थियो। पछिल्लो पटक म्याद थप गरेपछि पुल निर्माणको काम पूरा गर्नुपर्ने म्याद ०८३ मंसिरसम्म छ।
प्रदेश सरकारले यो वर्ष पुलका लागि ७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि उल्लेख्य बजेट खर्च हुन सकेको छैन।
हाल तुम्बेवातर्फ पुल निर्माणको काम गरिरहेको निर्माण कम्पनीले अब तेह्रथुमतर्फ पिलर निर्माण गरी काम थाल्ने तयारी गरिरहेको छ।
‘पुल निर्माण पाँचथरतर्फबाट सुरु भयो। निर्माण कम्पनीले काम नै नगरेको पनि होइन, तर कामको गति ढिलाइ भयो भनेर गुनासो आइरहेको छ,’ तुम्वेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले भने, ‘यसलाई एक हिसावले राजनीतिकरुपमा निकास दिने काम भएको छ।