अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाअन्तर्गतको धोबीखोला कोरिडोरको कालोपुल क्षेत्रमा ८ रोपनी १२ आना गुठी जग्गा अतिक्रमण गरेको पाइएको छ।

गुठी संस्थानले काठमाडौं महानगरपालिकाको सहयोगमा जग्गा अतिक्रमित जग्गामा बनाइएका घर, टहरालगायतको संरचना भत्काएको छ।

गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो।

काठमाडौ महानगरपालिका–७ मा रहेको कालोपुलमा गुठीअन्तर्गतको मठ छ। वडानम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार, यो क्षेत्रमा ८ रोपनी १२ आना गुठीको जग्गा छ।

८-१० वर्षदेखि उक्त स्थानमा अनधिकृत संरचना बनाई भाडामा लिनेदिने क्रम चलिरहेको थियो। उक्त स्थानमा बिजुलीको काम गर्ने पसल नै खोलिएको थियो यो ठाउँ सहिद धर्मभक्त माथेमाले मृत्युवरण गरेको स्थान पनि हो।

यहाँ उनको स्मृति पार्क पनि बनाइएको छ। बागेश्वरी मन्दिर पनि छ। पशुपति विकास कोषअन्तर्गत मठको घर पनि रहेको छ। यहाँ क्रियापुत्री भवनसमेत छ।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यो स्थानलाई सरकारले संरक्षण गर्ने योजना बनाएको हो।

गुठी संस्थान काठमाडौं शाखा प्रमुख बैकुण्ठप्रसाद रेग्मीका अनुसार डोजर लगाएर खाली गरेको जग्गा राजगुठीअन्तर्गतको जग्गा हो। यो जग्गा काठमाडौं–७ अन्तर्गत कित्ता नम्बर ९ र १० को रहेको छ।

एउटा कित्ता ३ रोपनी २ आना ३ पैसा र अर्को ५ रोपनी ९ आना २ पैसा गरी जम्मा ८ रोपनी १२ आना जग्गा रहेको छ।

उक्त जग्गालाई गुठी संस्थानले संरक्षण गर्ने र आर्यआर्जनका लागि लगाउने निर्णय गरेको प्रमुख रेग्मीले जानकारी दिए। उक्त क्षेत्रमा पार्कसमेत बनाइँदैछ।

सोमबार दिउँसो उक्त स्थानमा पुग्दा अतिक्रमित संरचनामाथि डोजर लगाइरहेको थियो। टिनले बारेर बनाइएको टहरामा एक व्यक्ति हातमा ढुंगा बोकेर बसिरहेका थिए।

खुट्टामा चोट लागेको जस्तो देखिने ती व्यक्तिले डोजरमा ढुंगा हानेका थिए।

अतिक्रमण गरेर बसेका अन्य व्यक्तिहरूले डोजरमाथि ढुंगा प्रहार गरेका थिए। उनीहरूको ढुंगा प्रहारबाट डोजरको सिसा फुटेको छ भने डोजर चालक घाइते भएका छन्।

अतिक्रमण गरेका जग्गा खाली गर्न गुठी संस्थानले पटकपटक आग्रह गरेको थियो।

वडा कार्यालयले समेत सूचना जारी गरेको थियो। तर उनीहरूले अटेर गरेपछि महानगरलाई जग्गा खाली गरिदिन सहयोग मागिएको थियो।

लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सरकारी जग्गा खाली गर्नको लागि पत्राचार भएकाले डोजर लगाएको बताएका छन्।

उनी भन्छन्, ‘उक्त ठाँउमा टिनका टहराहरू बनाएर भाडामा लगाउने गरेको र पसलसमेत सञ्चालन गर्दै आएको सूचना हामीले पाएका थियौं।

गुठीको जग्गामा अनधिकृत रूपमा संरचना बनाउन पाइँदैन।

उक्त एरियामा रहेको केही टहरामा अपांगता भएका बच्चाहरू समेत राखिएकाले मानवीयताका आधारमा आजलाई छाडिएको र घर खाली गर्ने गरी सूचना दिइएको पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *