बाढीले बगाएको झोलुंगे पुल निर्माण नहुँदा

असोज ११ र १२ मा सुनकोशी नदीमा आएको बाढीले नेपालथोकदेखि कोलन्जोर घाटसम्म रहेका ११ वटा झोलुंगे पुलमा क्षति पुर्‍याएको थियो।

पुलमा क्षति पुगेको सात महिना बित्दा पनि अझै मर्मत–सम्भार नहुँदा आवतजावत गर्ने सयौँ नागरिक समस्यामा परेका छन्।

बाढीले क्षति पुर्‍याएको अवस्थामा रहेका केही झोलुंगे पुलमा विद्यार्थी, वृद्धवृद्धा र बिरामीहरू जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

केही पुलमा स्थानीय गाउँपालिकाले काठको फल्याक र बाँस प्रयोग गरेर अस्थायी रूपमा आवतजावत खुलाएका छन्।

ती पुलमा निकै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको खाँडादेवी गाउँपालिका–१, राकाथुमका शेरबहादुर माझीले बताए।

सिन्धुलीको झाँगाझोली र रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुम जोड्न सुनकोशी नदीमा निर्माण भएको पुलबाट दैनिक २० जना बालबालिका रामेछापबाट सिन्धुलीको झाँगाझोलीमा रहेको गुठबजार माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन्।

अध्ययन गर्न जाने अर्को वैकल्पिक बाटो नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन्।

बाढीले खुर्कोट र सित्खाको पुल बगाएको थियो भने अन्य पुलमा धेरै ठुलो क्षति गरेको थियो।

जसमध्ये सिन्धुलीको चैनपुर र रामेछापको पुछिघाट जोड्ने पुलमा सबैभन्दा धेरै क्षति भएको छ।

स्थानीय गाउँपालिकाले उक्त पुल मर्मत गर्न सक्ने अवस्था नभएपछि माथिल्लो निकायमा पत्राचार गरिएको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले जानकारी दिइन्।

सुनकोशीमा क्षति पुगेका पुल मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास विभागले बजेट तयार गरी अर्थ मन्त्रालयमा माग गरेको पूर्वाधार विकास विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले जानकारी दिए।

मागअनुसारको बजेट प्राप्त भएपछि क्षतिग्रस्त झोलुंगे पुल दुई चरणमा पुनर्निर्माणको काम गर्ने गरी योजना अघि सारिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *