हिथ्रो विमानस्थल ‘पूर्ण रूपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले जनाएको छ।
विमानस्थल सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रूपमा सञ्चालनमा’ आएको प्रवक्ताले बताए।
विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो।
साँझपछि आंशिक रूपमा उडान सेवा सञ्चालनमा आएको थियो।
“हिथ्रो विमानस्थल आज पूर्ण रूपमा खुला भई पुनः सञ्चालनमा आएको छ,” उनले बताए।
उनले भने, “विमानस्थलभरिका टोलीहरूले ‘अफ–एयरपोर्ट पावर सबस्टेसन’मा हिजोको आगलागी र विद्युत् कटौतीका कारण प्रभावित यात्रुहरूलाई सहयोग गर्न सक्दो प्रयास जारी राखेका छन्।”
फ्लाइटराडार २४ ट्रयाकिङ वेबसाइटका अनुसार शुक्रबारको बन्दका कारण करिब १,३५० उडान प्रभावित भएका छन्।
शनिबार सेवा पुनः सुरु भएपछि पनि केही उडानको छुट्ने र अवतरण गर्ने तालिका प्रभावित हुने अपेक्षा गरिएको छ।
“हामीसँग हाम्रा टर्मिनलहरूमा सयौं अतिरिक्त सहकर्मीहरू छन्।
हामीले विमानस्थलमार्फत यात्रा गर्ने थप १०,००० यात्रुहरूलाई सुविधा प्रदान गर्न आजको तालिकामा उडानहरू थपेका छौँ,” उनले भने।
विमानस्थल प्रशासनले एक विज्ञप्ति जारी गर्दै यात्रुहरूलाई आफ्नो उडानको बारेमा नवीनतम जानकारीको लागि एयरलाइनसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरेको छ।
ब्रिटिस एयरवेजले दिनभरि विमानस्थलमा निर्धारित उडानको करिब ८५ प्रतिशत सञ्चालन हुने अपेक्षा गरेको जनाएको छ।
भीडभाड कम गर्नका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।
हरेक दिन करिब २,३०,००० यात्रुले हिथ्रो विमानस्थल प्रयोग गर्छन्।
विमानस्थलले वार्षिक ८.३ करोड यात्रुलाई सेवा दिन्छ।
हिथ्रो विमानस्थलबाट करिब ८० देशमा उडान हुँदै आएको छ।
अवरोधको परिमाणले बेलायतको यात्रा पूर्वाधारको महत्त्वपूर्ण टुक्रामध्ये एकको कमजोरीको बारेमा प्रश्न उठाएको छ।
बिहीबार राति भएको आगलागी ‘शङ्कास्पद नभएको’ र अनुसन्धान ‘विद्युतीय वितरण उपकरणमा केन्द्रित हुने’ अधिकारीहरूले बताएका छन्।
यसअघि लण्डनको महानगरीय प्रहरी बलको आतङ्कवादप्रतिरोधी कमान्डले आगलागीको प्रभावलाई ध्यानमा राखेर अनुसन्धानको नेतृत्व गरिरहेको बताएको छ।