नेपाल वायुसेवा निगम (नेवानि)को तीन महिनाअघि ग्राउन्डेड ट्विनअटर ९एन–एबियू मर्मतपछि उडानका लागि तयार भएको छ ।
जहाजमा नयाँ इन्जिन ल्याएर जडान गरिएपछि ३ चैतमा इन्जिन स्टार्ट भइसकेको छ ।
अब परीक्षण उडान गरेर व्यावसायिक उडान गनुपर्ने हुन्छ । निगमसँग महिनाको सातदेखि १० लाख रुपैयाँसम्म तलब बुझ्ने आइपी, क्याप्टेन र को–पाइलट छन् ।
तर, ‘पाइलट प्रोफेसिएन्सी चेक (पिपिसी)’ गरेका भ्यालिड पाइलट नहुँदा अझै परीक्षण उडान हुन सकेको छैन ।
व्यावसायिक उडान गर्ने पाइलटहरूका लागि हरेक तीन–तीन महिनामा पिपिसी गर्न अनिवार्य छ ।
तर, ट्विनअटर तीन महिनादेखि ग्राउन्डेड हुँदा इन्स्ट्रक्टर पाइलट (आइपी) र पाइलटहरूको पीपीसी भ्यालिड सकिएको बताइएको छ ।
पाइलटको पिपिसी भ्यालिड नहुँदा परीक्षण उडान हुन नसकेको निगमका टेक्निकल प्रवक्ता मनोजकुमार साहले स्वीकार गरे ।
‘आफ्टर मेन्टेनेन्स टेस्ट फ्लाइट गर्न इन्स्ट्रक्टर पाइलट (आइपी) नै चाहिन्छ भन्ने हुँदैन, तर निगमका अरू पाइलटहरूको पनि पिपिसी ड्यु हुँदा टेस्ट फ्लाइट गर्न पाएको छैन’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘आइपीको रोहवरमा उडान गरेपछि पाइलटको पिपिसी क्लियर हुन्छ, तर निगमका आइपीकै पिपिसी ड्यु रहेको बुझिएको छ ।’
पिपिसीअन्तर्गत पाइलटहरूको उडान कौशल, आपत्कालीन परिस्थितिमा निर्णय गर्ने क्षमता र अन्य नियामकीय मापदण्डअनुसार दक्षता परीक्षण गरिन्छ ।
आइपीको रोहवरमा पाइलटको कम्पिटेन्सी परीक्षण गर्ने हो, तर ट्विनअटर महिनौँ ग्राउन्डेड हुँदा आइपीले पनि आवश्यक परीक्षण दिन नपाएको निगम स्रोतको भनाइ छ ।
आफ्ना दर्जनभन्दा बढी पाइलट हुँदाहुँदै पनि समयमै तालिम गरेर राख्न नसक्दा निगमले परीक्षण उडान र पाइलटको पिपिसी क्लियर गर्न पनि पाइलट हायर गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
निगमले तारा एयरको पाइलटमार्फत परीक्षण उडान गर्नका लागि नियामक निकाय क्यानमा आवेदन दिएको छ ।
निगमले बिहीबार ट्विनअटरको टेस्ट फ्लाइट गर्न अनुमति मागेको क्यानका सहप्रवक्ता भुलले जानकारी दिए ।
उडान गर्न लागेको छ,’ भुलले भने, ‘ताराका पाइलटले आफूसँगै उडान गराएर निगमका आइपीको पिपिसी क्लियर गराउँछन्, तारा एयरसँग पनि ट्विनअटर विमान छन्, यसैले निगमले ताराको पाइलटमार्फत परीक्षण गरिदिनेछन्, त्यसपछि निगमका सबै पाइलटहरूको पिपिसी क्लियर गर्ने बाटो खुल्नेछ ।’
क्यानले अनुमति दिएपछि मात्र ताराका पाइलटले निगमको जहाज परीक्षण उडान गर्ने सुनिश्चितता हुनेछ । निगमका टेक्निकल प्रवक्ता शाहले बिहीबार परीक्षण उडान हुने वा नहुने अझै कन्फर्म भइनसकेको बताए ।
तर, क्यानका सहप्रवक्ता भुलले निगमले बिहान अनुमति पाउने र दिउँसो परीक्षण उडान गर्ने जानकारी गराए ।
‘जहाज मर्मत भएर इन्जिन स्टार्ट भइसक्यो, निगमका पाइलटहरूको पिपिसी अवधि सकिएका कारण बाहिरबाट पाइलट हायर गरेर उडान गर्ने तयारी छ,’ प्रवक्ता शाहले भने, ‘हायर गरिएका पाइलटले हाम्रा पाइलटलाई उडानमा संलग्न गराएपछि कमर्सियल फ्लाइटको बाटो खुल्नेछ ।’
सञ्चालनमा रहेका दुईवटै ट्विनअटर ग्राउन्डेड हुँदा निगमको तीन महिनादेखि आन्तरिक उडान ठप्प छ ।
ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि उडान आवर सकिएर ग्राउन्डेड छन् ।
२६ फागुनमा नयाँ इन्जिन ल्याएर एबियूमा जडान गरेपछि उडानयोग्य बनेको हो । जेठदेखि ग्राउन्डेड एबिटी मर्मतको भने अझै कुनै टुंगो छैन ।