आगामी चैत्र १५ देखि १७ गतेसम्म जिरी मेनिया–२०२५ नामक मोटरसाइकल यात्रा आयोजना हुँदैछ।
यस कार्यक्रमको मुख्य प्रायोजक रोयल इन्फिल्डका नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स रहनेछ।
तीन दिनसम्म चल्ने यस यात्रामा २०० भन्दा बढी बाइक राइडरहरू सहभागी हुने अनुमान गरिएको छ।
नेपालका विभिन्न जिल्लाका साथै भारत, दक्षिण अफ्रिका, अमेरिका र फ्रान्सबाट पनि राइडरहरू आउनेछन्।
राइडरहरूलाई जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ, जिरी होटल व्यवसायी संघलगायत स्थानीय निकायहरूले स्वागत गर्नेछन्। कार्यक्रममा सहभागीहरू जिरीका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन्।
साथै, सांस्कृतिक कार्यक्रम, लाइभ ब्याण्ड, डिजे सङ्गीत, स्थानीय परिकारको स्वाद र स्थानिय उत्पादनको खरिदजस्ता गतिविधिहरूमा सहभागी हुन सक्नेछन्।
कार्यक्रममा सहभागी हुन न्यूनतम दर्ता शुल्क लाग्नेछ। आयोजक काठमाडौँ लिजेन्ड्सका अध्यक्ष रमेश अवालेका अनुसार, यो मोटरसाइकल यात्राले जिरी भ्रमण वर्ष–२०२५ लाई समर्थन गर्नेछ।
साथै, यसले जिरीको पर्यटन प्रवर्द्धन गर्दै त्यहाँका प्रसिद्ध उत्पादनहरू जस्तै चिज र बटरलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने अवसर प्रदान गर्नेछ।