दैनिक १० घण्टासम्म विमानस्थल बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति अघि बढाएका अधिकारीहरूले आगामी एप्रिल १ बाट दैनिक १८ घण्टा उडान हुने र उडान सङ्ख्या पनि थपिने बताएका छन्।
गएको कार्तिकबाट विमानस्थलको ह्याङ्गर एप्रोन र ट्याक्सी वेलगायत पूर्वाधारको निर्माणका लागि देशलाई बाँकी विश्वसँग जोड्ने प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवधि र सङ्ख्या कटौती गरिएको थियो।
उक्त निर्माणकार्यमा भइरहेको प्रगति अनुसार अहिले दैनिक १६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको छ।
मार्च महिनाको अन्तिममा गर्मीयामको उडान तालिका आफूहरूले सार्वजनिक गर्ने र त्यस क्रममा कम्तीमा दुईवटा वायुसेवाले नेपालमा थप उडान गर्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकले बीबीसीलाई बताए।
निर्माणकार्यमा कति प्रगति भएको छ?
नेपाल नागरिक उड्ययन प्राधिकरणका सहव्यवस्थापक ज्ञानेन्द्र भुलका अनुसार अहिले ७० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ।
उनी भन्छन्, “अहिले हामीले उडान अवधि १४ घण्टाबाट बढाएर १६ घण्टा गरेका छौँ। अब एप्रिल १ बाट १८ घण्टा हुन्छ।
त्यो अवधिमा बाँकी रहेको २० देखि २५ प्रतिशत मर्मतको कार्य पनि सम्पन्न हुन्छ।”
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले मार्च महिनाभित्र विमानस्थलको धावनमार्ग छेउछाउका कामहरू सम्पन्न हुने बताए।
उनले भने, “रनवे नै बन्द गरेर त्यहाँबाट दायाँबायाँ ७५ मिटरसम्म नयाँ ट्याक्सीवे जोड्ने काम अहिले भएको हो। मुख्य रूपमा रनवे, ट्याक्सीवे र जहाजको पार्किङलाई केन्द्रित गरेर अहिले हामी काम गरिरहेका छौँ।
अहिले ७५ मिटरभन्दा बाहिर दिनरात नै काम भइरहेको छ र एकडेढ वर्षमा बाँकी सबै काम सकिन्छ र त्यसपछि हामीले राति विमानस्थल बन्द गरिरहनुपर्दैन।”
एशियाली विकास ब्याङ्कको ऋण सहयोग र नेपाल सरकारको लगानीमा झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेर यो स्तरोन्नतिको काम हुन लागेको हो।विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजे देखी राति २ बजेसम्म गरी दैनिक २० घण्टा सञ्चालन हुँदै आएको थियो।
तर अहिले आफूहरूले १८ घण्टा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न लागेको अधिकारीहरू बताउँछन्।
भुलले अहिले राति १२ बजेपछि कतार एअरलाइन्स र फ्लाई दुबईको उडान हुने गरेकामा आफूहरूले उडानको समयतालिका सार्न अनुरोध गरेको बताए।
उनी थप्छन्, “दुईवटा उडानका लागि छ घण्टा विमानस्थल चलाउनुभन्दा हामीले उहाँहरूलाई १२ बजेअघि नै गर्नुहोस् भनेका छौँ। उहाँहरू पनि तयार हुनुहुन्छ।”
उडानको सङ्ख्या थप हुँदा के फरक पर्छ?मार्चको अन्त्यमा गर्मीयामका लागि नयाँ तालिका आउँदा उडानको सङ्ख्याहरू थपिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
उनले भने, “अब उडानहरू पनि बढ्छन्। नयाँ वायुसेवा स्पाइस जेट आउन लागेको छ, एअर इन्डिया एक्सप्रेस भन्ने पनि आउन लागेको छ। कतिपय एयरलाइन्सहरूले उडान सङ्ख्याहरू पनि थप गर्न माग गरेका छन्।”
उनले १८ घण्टा भन्दा बढी उडान अवधि कायम राख्न तत्कालै नेपालको क्षमताले नभ्याउने भन्दै ‘एउटा मात्र रनवे’ भएको र नियमित मर्मतसम्भार गरिरहनुपर्ने अवस्था रहेको बताए।
“रनवे पनि पुरानो हो। मर्मतसम्भारका उपकरणको सीमितताका कारण पनि हामीले आराम दिने कुरा गरेका हौँ।”
उनका अनुसार उडानको सङ्ख्यामा वृद्धि हुँदा यात्रुहरूले टिकट सहजै पाउने अवस्था आउने छ भने प्राधिकरणको पनि आम्दानी बढ्ने छ।
निरौलाले थपे, “भारतका हैदरावाद र कोलकाताजस्ता सहरमा पनि उडान गर्ने भन्ने कुरा भएको छ। नयाँ गन्तव्यबाहेक उडानहरूको सङ्ख्या वृद्धि भएपछि टिकटको मूल्य पनि केही सस्तो होला।”
विगतमा प्राधिकरणले उडानको सङ्ख्या कटौती गरिदिएलगत्तै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य आकासिएको भन्दै सरकारविरुद्ध रोष प्रकट भएको थियो।
त्यसबेला टिकटको मूल्य घटाउन सरकारले वायुसेवा प्रदायकहरूलाई अनुरोध समेत गरेको थियो।
महाप्रबन्धक निरौलाले उडानको सङ्ख्या वृद्धि भएपछि यसले नेपालमा थप पर्यटकहरू भित्र्याउन पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे।
गएको वर्षको गर्मीयाममा अन्तर्राष्ट्रियतर्फ दैनिक ५५ वटासम्म उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका थिए। हिउँदमा त्यो घटेर ४४ वटासम्म भएको निरौलाले बताए।
नागरिक उड्ययन प्राधिकरणको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार सन् २०२४ को ज्यानुअरीदेखि नोभेम्बरसम्म यस विमानस्थलमा १५,२६८ अन्तर्राष्ट्रिय उडान आएका थिए। त्यस अवधिमा विमानस्थलबाट १५, ३६२ उडान बाहिरिएका थिए।
उक्त अवधिमा आवागमन गर्ने यात्रुको सङ्ख्या झन्डै साढे ४४ लाख रहेको तथ्याङ्कले देखाउँछ।
उक्त अवधिमा झन्डै ८५ हजार आन्तरिक उडान त्रिभुवन विमानस्थलमार्फत् भएका थिए, जसका क्रममा ३७ लाख बढी यात्रुहरूले यस विमानस्थलको ‘डोमेस्टिक टर्मिनल’ हुँदै यात्रा गरेका थिए।
जारी स्तरोन्नतिको काम सम्पन्न भएपछि काठमाण्डू विमानस्थलको क्षमता ३० प्रतिशतले वृद्धि हुने महानिर्देशक निरौलाले बताए।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले अहिले निर्माण भइरहेका पूर्वाधारहरूका कारण रनवेको क्षमता २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान आफूहरूले गरेको भन्दै त्यसबाट उडानहरूको सङ्ख्या पनि बढ्ने बताए।