नेपालकै प्रमुख अन्तर्राष्ट्रिय आवागमनको ‘गेट वे’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा क्षमता अभिवृद्धि गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
विमानस्थलमा उडान सेवा नै बन्द गरेर मध्यरातमा भइरहेको जोखिमपूर्ण क्षेत्रको निर्माणकार्य ८० प्रतिशत पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ ।
धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्र पर्ने निर्माणकार्य सम्पन्न गरेर १९ चैतदेखि विमानस्थल १८ घण्टा सञ्चालन गर्ने तयारी छ ।
जोखिमपूर्ण क्षेत्रको निर्माणका लागि राति ११ बजेदेखि बिहान सात बजेसम्म विमानस्थल बन्द गरिँदै आएको छ ।
धावनमार्ग कनेक्ट गर्ने ट्याक्सी वेमा माटो फिलिङको काम सकेर पिचको काम भइरहेको प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
धावनमार्ग जोड्न पूर्वतर्फ दुईवटा र पश्चिमतर्फ ६ वटा नयाँ ट्याक्सी वे निर्माण भइरहेका छन् ।
अहिले विमानस्थल जोड्ने आधा दर्जन ट्याक्सी वे थिए । जहाज पार्किङ (एप्रोन) क्षेत्रतर्फ लाग्ने समानान्तर ट्याक्सी वे र धावनमार्गलाई जोड्ने ट्याक्सी वे थप भएपछि उडान–अवतरण संख्या बढ्ने अपेक्षा गरिएको छ ।
‘धावनमार्ग जोड्ने जोखिमपूर्ण क्षेत्रको विस्तार कार्यलाई तीव्रता दिएका छौँ, अहिलेसम्म यो क्षेत्रमा झन्डै ८० प्रतिशत सम्पन्न भइसकेको छ,’ हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख श्रेष्ठले भने, ‘७५ मिटरभित्रको काम सकेर १९ चैतदेखि विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म खुला हुनेछ ।’
धावनमार्गबाट ७५ मिटरभन्दा बाहिरको निर्माण कार्य भने दिनरात भइरहेको श्रेष्ठको भनाइ छ । सबै काम सकिन भने अझै डेढ वर्ष लाग्ने अनुमान छ ।
अहिले त्रिभुवन विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ ।
त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत सुविधासम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण पनि पर्छ ।
चालू आर्थिक वर्षको बजेटमै दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरिए पनि आठ महिना बितिसक्दासमेत काम अगाडि बढाइएको छैन ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय एप्रोन (ठुला जहाज पार्किङ)को काम ६०–६५ प्रतिशत सम्पन्न भइसकेको छ । आन्तरिक उडान गर्ने जहाज पार्किङ (एप्रोन)को काम पनि सुरु हुँदै छ ।
यस्तै, आन्तरिक वायुसेवा कम्पनीका लागि ह्यांगरसमेत निर्माण गरिँदै छ । त्रिभुवन विमानस्थलले ठाउँ उपलब्ध गराउने र वायुसेवाले आफँै ह्यांगर निर्माण गर्ने बताइएको छ । अहिले बुद्ध एयरको मात्रै ह्यांगर छ ।
धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्रको निर्माणका लागि विमानस्थल दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।
अहिले बिहान सातदेखि राति ११ बजेसम्म दैनिक १६ घण्टा मात्र उडान सञ्चालन भइरहेको छ ।
क्यानले २३ कात्तिकदेखि दैनिक १० घण्टा (बिहान आठदेखि राति १० बजेसम्म) सेवा बन्द गरेर विमानस्थल स्तरोन्नतिको काम सुरु गरेको थियो । त्यो समयमा दैनिक १४ घण्टा मात्र विमानस्थल सञ्चालनमा थियो ।
१९ माघदेखि निर्माणकार्यमा असर नपर्ने गरी दैनिक आठ घण्टा मात्र विमानस्थल बन्द (१६ घण्टा सञ्चालन) गरेर विस्तारको काम भइरहेको जनाइएको छ ।
२३ कात्तिकअघि विमानस्थल दैनिक २१ घण्टा (बिहान ६ देखि राति तीन बजेसम्म) सञ्चालन हुने गथ्र्यो । १९ चैतपछि पनि राति १२ बजेदेखि तीन बजेसम्म हुने फ्लाइट अगाडि वा पछाडि सारेर उडान गर्नुपर्ने श्रेष्ठले बताए ।