बुटवलबाट पश्चिम लागेपछि ठाउँठाउँमा धमाधम पुल निर्माणको काम भइरहेको छ । सडक किनारका धेरैजसो रुख काटिएका छन् ।
मुख्य सडकको दायाँ बायाँ बिजुलीका पोल सार्ने काम पनि सँगसँगै भइरहेको छ । गत माघ ११ गते बुटवल–गोरुसिंगे सडक विस्तारको शिलान्यास भएको थियो ।
उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सडक विस्तारको शिलान्यास गरेका थिए ।
शिलान्यास भएयता तीव्र रूपमा काम भइरहेको देखिएको छ ।
बुटवल–नारायणगढ सडक विस्तारको दुरवस्था देखेका स्थानीयले बुटवल पश्चिममा समयमै काम सकिन्छ कि भन्ने आशा गरेका छन् ।
सैनामैना नगरपालिका–६ कलौनीका रणबहादुर खनालले अरु ठाउँको तुलनामा यो सडकमा काम भएको देखिएको बताए । ‘हामीले बुटवल भैरहवाको सडक विस्तार हेर्यौं । बुटवल–नरायणगढको सडकको अवस्था भोगिरहेका छौं ।
त्यहाँको तुलनामा यहाँ फटाफट काम भएको देखिएको छ,’ उनले भने, ‘यही तरिकाले काम भइरह्यो भने तोकिएकै समयमा सडक विस्तार सकिएला भन्ने आशा छ ।’
कांग्रेस सैनामैना नगर सभापतिसमेत रहेका खनालले सडक विस्तारमा ढिलाइ भए छिटो गर्न आफूहरूले दबाब दिने बताए ।
सडक विस्तारको क्रममा यात्रुलाई कम सास्ती हुने गरी काम हुने निर्माण कम्पनीले आयोजनासमक्ष कार्ययोजना पेस गरेको छ ।
बुटवल–गोरुसिंगे सडक आयोजनाका इन्जिनियर अशोक पौडेलले अहिले पुल निर्माणको काम धमाधम भइरहेको जानकारी दिए ।
‘यो दुई महिनामा आठ नौ वटा पुल निर्माण कार्य सुरु भइसकेको छ ।
सतगढी–१ सतगढी–२, कोइला खोला, बाणगंगा नदी, बमाहा पुललगायतका पुल निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘त्यस्तै रिटेनिङ वालको काम पनि सुरु भएको छ ।
१२ वटाजति कल्भर्ट बनाउँदै छौं ।’ सडक विस्तार आयोजना अन्तर्गत ३० वटा पुल निर्माण हुनेछ ।
अहिले पुल भइरहेको ठाउँमा चार मिटरनजिक अर्को पुल बन्ने छ । दुई वटा पुल पुरानो भएकाले ती ठाउँमा नयाँ पुल बन्ने छन् ।
सडक विस्तारका लागि अब एक हप्ताभित्र रुख कटानको काम सकिने आयोजनाका इन्जिनियर पौडेलले बताए । ‘जिल्ला वन कार्यालय रुपन्देही र कपिलवस्तुको रोहवरमा भइरहेको छ ।
अहिले ९० प्रतिशत रुख कटान सकिएको छ । एक हप्तामा सबै रुख कटानको काम सम्पन्न हुन्छ,’ उनले भने ।
कुल ७१ सय २५ वटा रुख कटान हुनेछन् । त्यस्तै विद्युत प्राधिकरणको पोल सार्ने काममा पनि ठेक्का पट्टा भइसकेको छ ।’
सडकअन्तर्गत ६ वटा भिओपी अण्डर पास हुने इन्जिनियर पौडेलले बताए । काठमाडौंको ग्वार्कोमा जस्तै अण्डर पास बन्ने छ ।
चार लेनको बाटो सिधा जान्छ सर्भिस लेनको सडकमार्फत अण्डरपासबाट ओहोरदोहोर हुनेछ ।
बुटवलको बेलबास, नयाँ गाउँ, तामनगर चोकमा यस प्रकारका अण्डरपास बन्ने छन् । त्यस्तै सैनामैनाको मुर्गिया र कपिलवस्तुको चार नम्बर बजारमा पनि निर्माण हुने इन्जिनियर पौडेलले जानकारी दिए ।
पैदल यात्रुका लागि बाटो काट्न १२ वटा अण्डर पास र ११ वटा आकासे पुल निर्माण हुनेछ ।
बुटवल पश्चिममा तीन प्रकारको सडक निर्माण हुनेछ । बजार क्षेत्रमा ५० मिटरको चौडाइको सडक हुनेछ ।
जहाँ चार लेन मूल सडक, त्यसपछि दायाँबायाँ सर्भिस लेन साइकल लेन र फुटपाथ हुनेछ ।
बुटवल उपमहानगरको क्षेत्रमा यो खालको सडक बन्ने छ । बस्ती भएका ठाउँमा साढे ३७ मिटर सडक हुनेछ ।
यो ठाउँमा सर्भिस लेन भए पनि फुटपाथ र साइकिल लेन भने हुने छैन ।
ग्रामीण भेग र जंगल क्षेत्रमा २४ मिटर चौडाइको सडक हुनेछ । बुटवल–गोरुसिंगे ५० किलोमिटर सडक विस्तारका लागि दुईवटा प्याकेजमा ठेक्का लागेको छ ।
बुटवलबाट कोठी नदीसम्म २५ किलोमिटर र कोठी नदीबाट गोरुसिंगेसम्म २५ किलोमिटर गरी दुईवटा ठेक्का लागेको हो । तर निर्माण व्यवसायी भने एउटै हुन् ।
सडक निर्माणका लागि २०८१ असार ११ गते चीनको शान्छी कन्स्ट्रक्सन ग्रुप र नेपालको आशिष निर्माण सेवासँग ठेक्का सम्झौता भएको हो ।
पूर्वको प्याकेजको लागि सात अर्ब ८९ करोड र पश्चिमको प्याकेजका लागि पाँच अर्ब ६६ करोड लागतमा तय भएको छ ।
असारमा ठेक्का सम्झौता भए पनि कात्तिक ४ गतेबाट सम्झौता लागू भएको छ ।
त्यसको तीन वर्षभित्र अर्थात् २०८४ कात्तिक ४ गतेसम्म सडक सम्पन्न गर्नुपर्ने म्याद छ ।