१० महिनामा सकिएला त सूर्यविनायक-धुलिखेल सडक

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालेको २६ महिना वित्यो । तर, अहिलेसम्म निर्माण प्रगति ४३ प्रतिशत मात्र छ ।

अबको १० महिना भित्र ५७ प्रतिशत काम सक्नु पर्ने छ । अहिले भइरहेको निर्माण गति हेर्दा उक्त समयभित्र काम सकिने छाँट देखिँदैन ।

त्यसैले निर्माण प्रगति सन्तोषजनक छैन । कुल १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर यसको काम भइरहेको छ । जसमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । जुन खण्डको दूरी हो, ७.५ किमि ।

उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ मा लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख छ ।

यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म तोकिएको छ । साँगादेखि धुलिखेल खण्डमा पनि अहिले काम भइरहेको छ । जुन खण्डको दूरी ८.३ किमि छ ।

साँगादेखि धुलिखेल खण्डमा ‘स्ट्रक्चर’ निर्माणको काम भइरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । उक्त खण्डको एक किमिमा कालोपत्रको काम भइरहेको उनको भनाइ छ ।

अहिले साँगा खण्डमा पनि काम भइरहेको आयोजनाले जनायो । ‘सुरु सम्झौताअनुसार ३६ महिनाको म्याद हो,’ उनले भने, ‘अहिले काम भइरहेको छ,सुरु म्याद नै बाँकी छ ।’

उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो ।

भौतिक प्रगति ४२ प्रतिशत छ । यस खण्डको म्याद २०८२ मंसिर २७ सम्म रहेको आयोजनाका इन्जिनियर खनालले बताए ।

उक्त सडक निर्माण भएको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो । अहिलेसम्म समग्रमा दुवै खण्ड गरेर भौतिक प्रगति ४३ प्रतिशत रहेको आयोजनाको सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले बताइन् ।

उनका अनुसार जगाती र महादेव खोलामा पक्की पुल निर्माणका लागि डिजाइन स्वीकृत भई निर्माण सुरु भएको छ । त्यस्तै पुन्यमती खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति प्रक्रियामा रहेको आयोजनाले जनायो ।

यो सडक खण्ड भएर पूर्वका लागि सवारी साधन छुट्ने गरेका छन् । बीपी राजमार्गमा यही खण्ड भएर सवारी साधन गुड्ने गर्छन ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माणका लागि भत्काइएका सडका कारण दैनिक ट्राफिक जामको समस्या भने थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *