ललितपुरदेखि हेटौंडा बजार जोड्ने पुरानो सडकमध्ये एक हो, कान्ति राजमार्ग । यस सडकमा गत असोजमा आएको बाढीका कारण ठूलो क्षति भयो ।
ललितपुर–हेटौंडा जोड्ने बगुवाको पुल आधा बग्यो । ललितपुरतर्फ मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक ठप्प भयो ।
पहिरोका कारण सडक साँघुरिएको छ । सडकमाथिको पहिरो अझै पन्छाइसकिएको छैन । जसोतसो पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको छ ।
फेरि बर्खा नजिकिँदै छ । आउने बर्खाअघि नै बाढीपहिरोको जोखिम रहेको खण्डमा काम गर्ने तयारी भइरहेको कान्ति राजमार्ग सडक योजना कार्यालयकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताइन् ।
‘ललितपुरतर्फ दुई र मकवानपुरतर्फ एउटा प्याकेज बनाएर ठेक्का गर्छौं,’ उनले भनिन्, ‘फागुनभित्र ठेक्का गर्ने प्रयास गरेका हौं, लागत अनुमान सडक विभागबाट टुंगो लगाइँदै छ ।’ चैत १० सम्म ठेक्का आह्वान गर्ने तयारी रहेको उनको भनाइ छ ।
‘ललितपुरतर्फ भैंसेसहित ३ वटा ठूला पहिरो रोकथामका लागि छुट्टै ठेक्का गर्छौं, त्यसपछि यही जिल्लाको सडकको ठेक्का हुन्छ,’ उनले भनिन्, ‘यो वर्ष पहिरोको जोखिम रहेको खण्डमा काम नगरे आउने बर्खामा समस्या निम्तिन्छ ।’
ललितपुरतर्फ २८ किमिमध्ये करिब ३ सय ५० मिटर हाराहारी पहिरोको खण्ड पर्छ ।
यही सडक खण्डमा बहुवर्षीयअन्तर्गत ६ किमिमा ठेक्का भइसकेको बज्राचार्यले जनाइन् ।
‘६ किमिबाहेक २२ किमि खण्डको ठेक्का छुट्टै गर्छौं,’ उनले भनिन्, ‘पहिरोमा ग्याबिन, पर्खाल लगाउँछौं, अझै व्यवस्थित गर्न मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वाल लगाउनेछौं ।’
मकवानपुरमा पहिरोको समस्या रहेको ३५ किमि खण्डमा ठेक्का गरेर काम गरिने उनको भनाइ छ ।
‘बर्खाअघि भैंसेको पहिरो व्यवस्थापनको काम सक्ने योजनामा छौं, त्यसैले छिटो प्रक्रियाबाट खरिद सूचनालाई छोट्याई ठेक्का गर्ने तयारीमा छौं,’ उनले भनिन्, ‘पहिरो व्यवस्थापनका लागि एक वर्षभन्दा बढी समय दिन्नौं, अन्य ठेक्काको हकमा दुई वर्षको समय हुन्छ ।’
कान्ति राजमार्गको स्थायी निर्माणका लागि २ अर्ब ५२ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको बज्राचार्यको भनाइ छ ।
‘बगुवामा बर्खालाई दृष्टिगत गर्दै बेलिब्रिजको ठेक्का गरेर काम गर्दै छौं, वैशाख मसान्तभित्र यसको काम सक्छौं,’ बज्राचार्यले भनिन्, ‘अहिले भएकै नजिक स्थायी रूपमा पुल निर्माणको काम थालिएको भए पनि डिजाइन रिभ्यु गरिरहेका छौं ।’
अहिले भएको भन्दा ५ सय मिटर तल पक्की पुल बन्नेछ । ललितपुरको सातदोबाटोबाट हेटौंडाको बुद्धचोकसम्मको दूरी ९१ किमि छ ।
यता गत असोजको बाढीले सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि ६ महिनापछि ठेक्का आह्वान गरिएको छ ।
पहिलो चरणमा सिन्धुली खण्ड निर्माणका लागि ठेक्का गरिएको हो । ३० दिनको समय तोकेर गत फागुन २८ मा ठेक्का आह्वान गरिएको हो, जहाँ पाँच किमि खण्डमा दुई लेन सडक बनाइनेछ ।
काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ८.५ किमि खण्डमा मंगलबार ठेक्का आह्वान गरिँदै छ । यसको निर्माण अवधि दुई वर्षको हुने सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जनाए ।
‘चार सयबेसीबाट भकुन्डेबेसीको ११ किमि खण्डको पनि केही दिनभित्रै ठेक्का निकाल्छौं,’ योगेशले भने, ‘डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ३.५ किमि खण्डको ठेक्काका लागि तयारी छ ।
तर यस खण्ड निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई दिने विषयमा छलफल भइरहेको छ ।
तर जाइकाबाट कुनै निर्णय भइसकेको छैन, यस खण्डमा जाइकाले काम नगरे ठेक्का आह्वान गरेर आफैं काम अघि बढाउँछौं ।’
काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिने उनको भनाइ छ ।
अहिले बीपी राजमार्गमा आउँदो बर्खालाई दृष्टिगत गरी अस्थायी मर्मतको काम भइरहेको छ ।
सडक विभागले सडक र पुलको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमानसहित अर्थ मन्त्रालयसँग स्रोत सहमति मागेको थियो । अर्थको निर्णयसँगै सडक र पुलको स्थायी निर्माणका लागि बाटो खुलेको हो ।
राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ अर्थसँग माग गरिएको थियो ।
यसमा १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मतसम्भारका लागि रकम माग गरिएको हो ।
राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ माग गरिएको थियो ।
सबैभन्दा बढी बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको हो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो ।
यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो ।
अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा पुनर्निर्माण गर्न बजेट माग गरिएको हो ।
वैकल्पिक सडकतर्फ काभ्रेको भकुन्डेबेसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक छन् ।
चैतभित्र सबै सडकको ठेक्का गरी सकिने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
‘योजना फागुनभित्र सबै सडकको ठेक्का गर्ने थियो । भनेजस्तो हुन सकेन, स्थायी निर्माण गर्ने कुरामा अध्ययन राम्रोसँग गर्नुपर्छ,’ उनले भने, ‘अहिले आयोजना प्रमुखहरू कोही पनि ढिला गर्ने पक्षमा हुनुहुन्न, चैतभित्र सबै ठेक्का आह्वानको काम टुंगिन्छ, केही पुलको हकमा भने समय लाग्नेछ ।’
Post Views: 37