मोटरेबल पुल नौ वर्षसम्म अधुरै

कास्की र पर्वत जोड्ने भुरुङ्दी खोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै छ।

सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित ०७१ मंसिरदेखि निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको हो।

पर्वतको मोदी गाउँपालिका-१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका- ८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन।

खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन।

६ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। अहिलेसम्म एक करोड ५० लाख रुपैयाँ कार्यालयबाट भुक्तानी गरिएको छ।

उक्त पुल २९ महिनामा सम्पन्न गर्ने गरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो।

सडक डिभिजन कार्यालय बागलुङले ०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ।

निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन्। तर, पुल निर्माणले गति लिएको छैन।

‘धेरैपटक हामीले पुलबारे सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने-नहुनेमा आशंका छ।

ढिलो गरी काम सुरु भएको छ,’ स्थानीय राजेन्द्र खड्काले भने।

सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ।

अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए।

स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताए।

स्थानीय तह, सघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उनले बताए।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेश सभा सदस्य भक्त कुँवरले हालै आयोजनाको स्थगलत अनुगमन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *