मकवानपुरको सिस्नेरीमा सोमबार बिहान भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । गाडीमा १७ जना यात्रु थिए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित धाराखोल्सा भन्ने स्थानमा काठमाडौंबाट भारतको उत्तर प्रदेश जाँदै गरेको गाडी दुर्घटना भएको हो ।
काठमाडौंबाट हेटौंडा हुँदै उत्तर प्रदेश जान लागेको यू पी ७० एन टी ६९१७ नम्बरको गाडी धाराखोल्साको मोडमा एक्कासि ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय, सिस्नेरीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि हेटौंडातर्फ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।