नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम अघि बढाइएको छ ।
तर बर्खा नजिकिएसँगै निर्माणको गति भने सुस्त छ । यो सडक खण्ड भएर दैनिक करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । यो खण्डको स्तरोन्नति विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएर थालिएको हो ।
पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड रहेको छ । जुन खण्डको दूरी १२.२६ किलोमिटर छ ।
१ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा उक्त खण्डको निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो । काम भने २०७९ जेठ २६ मा मात्र सुरु भयो ।
तोकिएको समय २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपियो, काम सकिएन । फेरि २०८२ साउन १० सम्मका लागि म्याद थप गरिएको छ ।
बर्खा अघि नै सडकलाई सहज बनाउनेगरी गरी उक्त खण्डमा कालोपत्रको काम थालेको एक महिना भएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
‘निर्माण सामग्रीको अभाव छ, जसले गर्दा पनि काममा ढिलाइ भएको हो,’ उनले भने, ‘बल्ल खोलाबाट निर्माण सामग्री निकालेर काम गर्ने तयारी हुँदै छ ।’
नागढुंगा–नौबिसे खण्डमा ६ किमि पहिलो तहको कालोपत्रको काम सकिएको छ ।
निर्माण सामग्री अभाव नभए एक महिनाभित्र नौबिसेदेखि नागढुंगा सुरुङमार्गको मुखसम्म ८ किमि सडकमा पहिलो तहको कालोपत्रको काम सकिने उनको भनाई छ ।
यो खण्डको प्रगति भने अहिलेसम्म ६८ प्रतिशत छ । तीनवटा प्याकेज मध्ये यस खण्डमा प्रगति राम्रो रहेको प्रमुख ओझाले बताए ।
पहिलो प्याकेजका रुपमा रहेको नौबिसेदेखि पिपलामोडसम्म तोकिएको समयभित्र काम सकिने उनको दाबी छ ।
त्योभन्दा माथि नागढुंगासम्म करिब २ किमिमा पर्याप्त निर्माण सामग्रीको उपलब्धता नहुँदासम्म नभत्काइने उनले बताए ।
‘यो खण्ड साँघुरो छ,’ उनले भने, ‘निर्माण सामग्रीको उपलब्धता भएपछि मात्र भत्काएर काम गर्ने छौं, यस खण्डमा काम थाल्दा सवारी आवागमन के गर्ने भनेर छलफल पनि भइरहेको छ ।’
दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो, जसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् ।
२०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यो खण्डको काम २०८२ असार मसान्तमा सकिसक्नुपर्नेछ । अहिलेसम्म भौतिक प्रगति ३० प्रतिशत मात्र छ ।
‘यस खण्डमा ४ किमि एकतर्फी सडक कालोपत्र भएको छ, निर्माण सामग्रीको ठूलो समस्या यही खण्डमा बढी छ,’ उनले भने, ‘बिहान ८ देखि १२ र बेलुका ४ बजेपछि सवारी चाप धेरै हुने भएकाले उक्त समयमा काम गर्न एकदमै समस्या छ ।’
मलेखु–मुग्लिन खण्डलाई तेस्रो प्याकेजमा राखिएको छ । यो खण्डको ठेक्का शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको हो ।
३८.८६ किमी दूरीको यो सडक खण्डको ठेक्का सम्झौता २०७९ पुस १५ मा भएको हो । सम्झौताअनुसार २०८२ मंसिर ७ भित्र काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म प्रगति २३ प्रतिशत मात्र छ ।
यस खण्डमा २.२ किमिको ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किमिको हुनेछ ।
जसले रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार समेट्नेछ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किमिको हुने छ ।
बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नागढुंगा–मुग्लिङ सडक योजना, पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताए ।
‘अहिले कुरिनटारमा २ किमि कालोपत्र भएको छ,’ उनले भने, ‘आगामी असार मसान्तसम्म १५ किमि कालोपत्र गर्ने लक्ष्य छ ।’
नागढुंगा ओरालोदेखि मुग्लिनसम्मको खण्डमै पहिरोको जोखिम बढी छ । गत असोजमा नागढुंगाबाट २.७ किमि खण्डमा रहेको झ्याप्ले खोलामा पहिरो खसेर माइक्रो र यात्रु बस पुरिदाँ ३५ जनाको मृत्यु भएको थियो ।
तर, आउने बर्खा अघि यस खण्डको सडक स्तरोन्नतिको काम सकिने छाँट देखिदैन ।