आशा जगाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सञ्चालनको २७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ ।

आगामी ५ चैतदेखि यहाँबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो ।

१७ पुस ०७९ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागु भएपछि अन्तराष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो ।

१८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा हालसम्म आइपुग्दा आठ चार्टर्ड उडान र एक व्यावसायिक उडान भए पनि नियमित अन्तराष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्ने टुङ्गो लागेको थिएन ।

दुई निजी वायु सेवा कम्पनीले पोखराबाट छिमेकी देश चीनमा नियमित उडान सुरु गर्ने तयारी गरेपछि अब विमानस्थलले अन्तर्राष्ट्रिय उडानका लागि केही आशा जगाउने काम गरेको छ ।

आउँदो ५ चैतमा चीनको सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु र १८ चैतबाट हिमालयन एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडान गर्ने भएको हो ।

दुवै कम्पनीले सातामा एक दिन पोखराबाट व्यावसायिक उडान सुरु गर्ने तयारी गरेका हुन ।

पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो ।

त्यसपछि पोखरामा दुई चार्टर्ड उडान गरेको सिचुवानले पोखराबाट पुर्ण लोड १२६ जना यात्रु लिएर काठमाडौंका लागि उडान गरिसकेको छ ।

हिमालयनले भने यसअघि चीनको कुनमिंङ शहरबाट पोखरामा उडान गरेको थियो ।

पोखराका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायी मिलेर पहिलो उठानका लागि तयारी गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

परिषद्ले ५ चैतमा पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेज समेत बनाएको छ ।

अध्यक्ष पहरीका अनुसार नेपालका लागि सिचुआन एयरलाइन्सको आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेशनलले पोखरा–छेन्दु,  छेन्दु–पोखरा एक उडान सुरु गर्नेगरि तयारी गरेको जानकारी दिए ।

छेन्दुबाट अस्ट्रेलियालगायत विभिन्न देशका गन्तव्यमा सिधा उडान सञ्चालन गर्ने तयारीमा समेत सिचुवान रहेको छ ।

हिमालयले १८ चैतदेखि काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एक उडान गर्नेगरि तयारी गरेको छ ।

हिमालयनका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठका अनुसार एयरलाइन्सले १८ चैत बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेर चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण गर्नेछ ।

सोही विमानले गोंगरबाट स्थानीय समयअनुसार १३ः१५ बजे उडान भरेर नेपाली समय अनुसार १२ः४५ बजे पोखरामा अवतरण गर्ने छ ।

सोही विमानले १९ चैतमा बिहान ८ः२० बजे पोखराबाट उडान भरेर चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण गर्नेछ ।

त्यसपछि चीनको स्थानीय समयअनुसार १२ः३० बजे ल्हासाको गोंगर विमानस्थलमा उडान भरेर नेपाली समयअनुसार १२ः०५ बजे काठमाडाैंमा अवतरण गर्ने श्रेष्ठले जानकारी दिए ।

यही समय तालिकाअनुसार हिमालयले सातामा एकपटक उडान भर्ने र मागअनुसार उडान संख्या थप गर्दै जाने श्रेष्ठले बताए ।

हिमालयनको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने योजना छ ।

श्रेष्ठले हिमालयले सधैं चीनमा नयाँ गन्तव्य खोज्दै र नियमित उडान गर्दै आइरहेको बताए ।

नेपाल र चीनबिचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ व्यावसायिक उडान गर्न लागेको उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले पोखराबाट चीनका दुई शहरमा सुरु हुन लागेको उडानले दुई देशबिचको सम्बन्ध मजबुतसँगै पर्यटन आगमन बढाउन सहयोग गर्ने बताए ।

उडानले पोखरासँगै आसपासका क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने, पोखरालाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन थप सहयोग पुग्ने भनाइ उनको छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विमानस्थल निमार्ण सुरुसँगै यस क्षेत्रका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा अर्बाै लगानी थपेको र सञ्चालनको दुई वर्षसम्म नियमित अन्तराट्रिय उडान हुन नसकेको अवस्थामा निराश बनेका व्यवसायीहरुलाई यो उडानले केही आशा जगाउने काम गरेको बताए ।

दुई शहरमा सुरु हुन लागेको उडानले चिनियाँ पर्यटकलाई पोखरा भित्र्याउन सहयोग गर्ने भएकाले निराश व्यवसायीमा अब केही हुन्छ की भन्ने आशा समेत जागेको सुवेदीको भनाइ छ ।

चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा फोरडी मोडलमा निर्माण भएको पोखरा विमानस्थल ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लामो धावनमार्ग रहेको छ ।

जहाँ बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका विमान आउजाउ गर्न सक्ने छन् ।

यस्तै विमानस्थलमा साना र ठूला गरी ११ विमान पार्किङ गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *