चालू आर्थिक वर्षको साढे सात महिनामा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी तीन सय तीनजनाले ज्यान गुमाएका छन् ।
चालू आवमा एक हजार २६३ वटा सवारी दुर्घटना भएकोमा एक हजार ९१८ जना घाइते भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिए ।
चालू आवको माघ महिनासम्म बाँकेमा भएको दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको र ३१० जना घाइते भएको उनले बताए ।
लुम्बिनी प्रदेशमा फागुनमा मात्र २९ जनाले ज्यान गुमाएका छन् । गत आवमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी सयजना बालकालिकासहित तीन सय ९५ जनाले ज्यान गुमाएको उनको भनाइ छ ।
‘अव्यवस्थित सडक पूर्वाधार, चालकको लापरबाही, सचेतनाको कमीले दुर्घटना बढ्दो छ,’ उनले भने ।
नेपालगन्जमा आयोजित कार्यक्रममा एसपी खत्रीले एकजनाको लापरबाहीले दुर्घटना हुने र अकालमा ज्यान जाने तथा घाइते, अपांगता, अशक्त बन्नुपरिरहेको बताए ।
‘ट्राफिक प्रहरीले मात्र दुर्घटना न्यूनीकरण सम्भव छैन । सडक विभाग, ट्राफिक, चालक, पैदलयात्रु, विद्युत् प्राधिकरण, यातायात व्यवस्था कार्यालय, स्थानीय, प्रदेश र संघ सरकारको पनि उत्तिकै भूमिका रहन्छ,’ उनले भने ।
दुर्घटना न्यूनीकरण गर्न स्थानीय तहले अति व्यस्त चोक र सडकका आकासेपुल, ट्राफिक लाइट, छाडा पशुचौपायाको उचित व्यवस्थान गर्नुपर्ने उनको भनाइ छ ।
‘यातायात व्यवस्था कार्यालयले पुराना सवारीसाधन चेकजाँच गरी चलाउन बन्देज गर्ने हो भने पनि केही हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,’ एसपी खत्रीले भने, ‘यात्रुहरूले पनि जेब्राक्रसिङ र आकासेपुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर काट्ने, सकभर जेब्राक्रसिङबाट बाटो काट्ने, सवारीसाधनको गति हेर्ने, सवारीसाधनमा यात्रा गर्दा झुन्डिएर, छतमा बसेर यात्रा नगर्ने, सिटभन्दा बढी तथा कोचाकोच यात्रु नराख्ने हो भने पनि दुर्घटनाबाट जोगिन सकिन्छ ।’
विद्युत् प्राधिकरणले सडकको बिच भागमा रहेका पोल नहटाउँदा दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ ।
‘सम्बन्धित निकायले सडकमा सिसिक्यामेरा जडान गर्ने र सडक रेखा चुस्तदुरुस्त राख्ने, चालकले पनि बसस्टप भएको ठाउँमा मात्र गाडी रोक्ने, लेन अनुशासनको पालना गर्ने र तीव्र गतिमा गाडी नचलाउने हो भने दुर्घटना कम गर्न सकिन्छ,’ उनले भने ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख एसपी श्यामबहादुर खत्री भन्छन्-
यातायात व्यवस्था कार्यालयले पुराना सवारीसाधन चेकजाँच गरी चलाउन बन्देज गर्ने हो भने पनि केही हदसम्म दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
यात्रुहरूले पनि जेब्राक्रसिङ र आकासेपुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर काट्ने, सकभर जेब्राक्रसिङबाट बाटो काट्ने, सवारीसाधनको गति हेर्ने, सवारीसाधनमा यात्रा गर्दा झुन्डिएर, छतमा बसेर यात्रा नगर्ने, सिटभन्दा बढी तथा कोचाकोच यात्रु नराख्ने हो भने पनि दुर्घटनाबाट जोगिन सकिन्छ ।